जेठ १३, २०८३ बुधबार

काठमाडौँ, १३ जेठः नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले वैदेशिक रोजगार सम्बद्ध पुराना र अव्यवहारिक ऐन संशोधन गर्न आग्रह गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष हरिबहादुर पाण्डेले वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानमा जोड दिँदै यसलाई  सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आफूहरू सरकारसँग सहकार्य गरेर जान तयार रहेको बताउनुभयो ।

अर्को प्रसङ्गमा उहाँले सरकारले तोकेका रु १० हजारको सेवा शुल्क निकै कम भएको बताउँदै यसलाई बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सेवा शुल्क कम हुँदा उच्च तहका र धेरै रकम पाउने कम्पनीमा कामदार पठाउन सकिएको छैन । यसलाई समयानुकूल परिमार्जन गर्नुपर्छ ।”

उहाँले कामदारको मागपत्र प्रमाणीकरण, अन्तिम श्रम स्वीकृति, धरौटी रकम, रोजगार दायरा विस्तार, नीति निर्माणलगायत क्षेत्रमा रहेका कमजोरीलाई सच्याएर जानुपर्नेमा सुझाव दिनुभयो । मेनपावर कार्यालयमामा वैदेशिक रोजगार विभागमार्फत अनुगमन हुनुपर्नेमा जोड दिँदै उहाँले अहिले विभिन्न नाममा आफूहरुलाई दुःख दिन खोजिएको गुनासो गर्नुभयो ।

कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारमा नीतिगत सुधारको आवश्यकता औँल्याउँदै स्थिर सरकार बनेको अहिलेको बेला सबैभन्दा उपयुक्त समय रहेको टिप्पणी गर्नुभयो ।