काठमाडौँ, १७ जेठः गणतन्त्र दिवसका अवसरमा श्रीलङ्को राजधानी कोलोम्बोस्थित नेपाली दूतावासद्वारा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
दूतावास परिसरमा शुक्रबार नेपालको राष्ट्रिय झण्डा फहराएर प्रारम्भ गरिएको उक्त कार्यक्रममा राष्ट्रिय गानपछि देशमा लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्न आफ्नो जीवन उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।
दूतावासका कर्मचारी, कूटनीतिक परिवारका सदस्य तथा नेपाल–श्रीलङ्का मैत्री सङ्घका प्रतिनिधिहरूको सहभागितामा भएको उक्त कार्यक्रममा कार्यवाहक राजदूत विजयकुमार राउतले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै देशमा दिगो शान्ति, समृद्धि र सुशासन सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।
उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा वर्तमान सरकारले आर्थिक समृद्धि र सुशासनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरूलाई एकताबद्ध भई नेपालको विकास, समृद्धि र उज्ज्वल भविष्य निर्माणमा योगदान दिन आह्वान गरिएको छ ।
दूतावासले गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमबाट नेपाली समुदायबीच राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र देशप्रतिको प्रतिबद्धतालाई सुदृढ बनाउने विश्वास विज्ञप्तिमा व्यक्त गरेको छ ।