काठमाडौँ, १७ जेठः प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको आतङ्कबाट त्रसित नागरिकलाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरुले विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन, मानव–जङ्गली जनावर द्वन्द्व न्यूनीकरणमा विशेष योजना ल्याउन सरकारसँग माग गर्नुभयो ।
नेपाली कांग्रेसका सांसद जनकराज गिरीले यही जेठ १४ गते बाजुराको बूढीनन्दा नगरपालिकाका वडा नं १ का पार्तोला, मटेलालगायत वस्तीमा झण्डै ३०० रोपनी बगरमा परिणात भएको र ५० जनाको घरभित्र बाढी पस्दा सयौँ नागरिक खुला आकाशमुनि बस्न बाध्य जानकारी दिँदै तत्काल प्रभावित नागरिकलाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर बयकले कैलालीमा यही जेठ १४ गते आएको तीव्र हुरीले लम्कीचुहा नगरपालिकामा २५, जानकी गाउँपालिकामा ६ र बर्दगोरिया गाउँपालिका ५३ गरी ८४ घर तथा टिकापुरमा एक विद्यालयको छाना उठाएको जानकारी दिँदै विपद्पीडित नागरिकलाई तत्काल राहत दिन आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले जङ्गली बँदेलका आतङ्कका कारण दैलेखको भैरवी गाउँपालिकाका स्थानीय हैरान भएको जनाउँदै जङ्गली जनावर नियन्त्रण गरी किसानलाई राहत दिन माग गर्नुभयो ।
कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले मेची राजमार्गको दायाँबायाँ १५÷१५ मिटर क्षेत्रभित्रको संरचना खाली गराउनेसम्बन्धी सङ्घीय सडक सुपरिवेक्षण इलाम डिभिजन कार्यालयको सूचनाले सो क्षेत्रमा बसोबास गरिरहेका १५ लाखभन्दा बढी नागरिकलाई त्रसित बनाएको भन्दै सो नीति परिवर्तन गर्न सरकारको ध्यानकर्षण गराउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अफ्साना बानुले गत भदौ २४ गतेको घटनामा झुटा मुद्दा लगाएर कतिपय युवालाई फसाइएको र उनीहरुका परिवारजन माइतीघर मण्डलामा १८ दिनदेखि धर्नामा बसिरहेको सुनाउँदै उहाँहरुका माग सम्बोधन गर्न माग गर्नुभयो ।