जेठ १८, २०८३ सोमबार

कर्णाली, १८ जेठः कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले युवा उद्यमशीलतामा आकर्षण बढाउन प्रदेश सरकारले ब्याजमा अनुदान दिने नीति ल्याएको बताउनुभएको छ ।

    राष्ट्रिय युवा परिषद्द्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशस्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदेशनी’ को उद्घाटन गर्दै मन्त्री अधिकारीले प्रदेश सरकारले उद्यमशीलताको प्रवर्द्धनका लागि कृषकलाई ब्याजमा अनुदान दिँदै आएको बताउनुभयो । यसमा प्रदेश सरकारले रु एक करोडभन्दा बढी रकम विनियोजन गरेको उहाँको भनाइ छ । 

    मन्त्री अधिकारीले भन्नुभयो, “युवा देशका मेरुदण्ड हुन् । युवालाई रोजगार दिएर स्वरोजगार बनाउन सकिए विदेश पलायन दर घटाउन सकिन्छ । यसका लागि तीन तहका सरकारबीच आवश्यक समन्वय, सहकार्य जरुरी पर्नुका साथै युवामा पनि आफैँले केही गर्छु भन्ने वातावरण तयार बनाउनुपर्छ ।”

    वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले अब युवा आफैँ उत्पादनमा कसरी जोडिने भन्ने अवस्था वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार नगरपालिकाले ४० वर्ष मुनिका महिलालाई अटोचालक तालिम प्रदान गरेको छ । “युवालाई प्रविधिसँग जोडेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने बनाउनुपर्छ र युवा स्वयं पनि मेहनती र समपिर्त भएर लाग्नुपर्दछ”, उहाँले भन्नुभयो । 

    राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले नेपाली नागरिकलाई स्वदेशमा बस्ने वातावरण बनाउने र स्वदेशी उत्पादनलाई प्रोत्साहन दिने उद्देश्य प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो । युवालाई उद्यमशीलतातर्फ उत्प्रेरित गराउन परिषद्ले देशका सबै प्रदेशमा स्टार्टअप व्यवसायी प्रदेशनी कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिनुभयो । 

    प्रदर्शनीमा कर्णालीका स्थानीय उत्पादन मार्सी चामल, सिमी, कोदो, कागुनो, चिनो, फापर, राडीपाखी, ऊन तथा अल्लोबाट बनेका कोट, टोपी, दौरा सुरुवाललगायत कपडा, जैविक तेल तथा चिया, मोरिङ्गा, केराबाट उत्पादित म्याट, मह जस्ता स्थानीय वस्तुका करिब २० वटा कक्ष राखिएका आयोजकले जनाएको छ ।