धनुषा, १८ जेठः आगामी आर्थिक वर्ष २०८३/८४ को सङ्घीय बजेटमा नयाँ कमला नदीमाथि नयाँ पुल निर्माणका लागि बजेट विनियोजन नभएपछि कमला पुल निर्माण सङ्घर्ष समितिले प्रदेश सरकारमार्फत तत्काल काम अगाडि बढाउन माग गरेको छ ।
समितिले आज मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवलाई ज्ञापनपत्र बुझाउँदै पुल निर्माण प्रक्रिया तत्काल अघि बढाउन माग गरेको हो । सङ्घर्ष समितिले प्रदेशसभा परिसरमा प्रदर्शन गर्दै सङ्घीय सरकारले पुल निर्माणका लागि बजेट व्यवस्था नगरेको भन्दै असन्तुष्टि जनाएको छ ।
समितिका संयोजक इञ्जिनियर प्रवीण यादवले सङ्घीय सरकारसँग भएको सहमतिअनुसार पुल निर्माणका लागि बजेटको व्यवस्था हुने अपेक्षा गरिए पनि कुनै रकम नछुट्याइएकाले तत्काल अन्य व्यवस्थामार्फत काम थाल्न आग्रह गरिएको बताउनुभयो । उहाँ अनुसार कमला नदीमाथि नयाँ पुल निर्माणका विषयमा सङ्घर्ष समिति र मधेस प्रदेश सरकारबीच यसअघि भएका सहमतिअनुसार आगामी आवको सङ्घीय बजेटमार्फत आवश्यक रकम व्यवस्थापन गर्न पहल गरिनेछ ।
सरकारले बजेट उपलब्ध नगराएको अवस्थामा पुल निर्माणको सम्पूर्ण लागत मधेस प्रदेश सरकारले आफ्नै स्रोतबाट व्यहोर्ने र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारीका लागि बोलपत्र आह्वान गर्ने सहमति भएको थियो । सङ्घीय बजेटमा पुल निर्माणका लागि कुनै व्यवस्था नगरिएपछि प्रदेश सरकारलाई आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले प्रदेशसभामार्फत ध्यानाकर्षण गराइएको संयोजक यादवले बताउनुभयो ।
सभामुख यादवलाई बुझाइएको ज्ञापनपत्रमा सङ्घीय सरकारले बजेट नदिएको अवस्थामा मधेस प्रदेश सरकारले आफ्नै स्रोतबाट आवश्यक बजेट सुनिश्चित गरी निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन माग गरिएको छ । सिरहा र धनुषा जिल्लालाई जोड्ने प्रस्तावित नयाँ कमला पुल वर्षौंदेखि स्थानीयवासीको प्रमुख मागका रूपमा रहँदै आएको छ ।
समयमा पुल निर्माण भए आवागमन सहज हुनुका साथै दुई जिल्लाबीचको आर्थिक तथा सामाजिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने स्थानीयवासीको विश्वास छ । सङ्घर्ष समितिले अब आश्वासनभन्दा कामको सुरुवात आवश्यक रहेको उल्लेख गर्दै सरकारलाई तत्काल निर्णय गरी पुल निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।