असार ८, २०८३ सोमबार

विराटनगर, ८ असार ः कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट माथिको सामान्य छलफल जारी छ । 
 
    आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले  राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल प्रारम्भ गरियोस भनी सदनमा प्रस्ताव गर्नु भएपछि छलफल जारी भएको हो । 
    छलफलमा प्रदेशसभा सदस्य प्रेमराज थाम्साङले बजेटको स्रोतको सुनिश्चितता गर्ने जिम्मेवारी सरकारको हो भन्दै शिक्षा र स्वास्थ्यमा ल्याएको कर नीतिले सीमान्कृत वर्ग मर्कामा पर्ने धारणा राख्नुभयो ।

    उहाँले  चिया निकासीमा भारत सरकारले गरेको अवरोधबाट नेपालका दर्जनाँै चिया उद्योग ठप्प भएको, ५० हजारभन्दा बढी चिया मजदुरको रोजगार धरापमा परेको र चिया किसान पनि समस्यामा परेकाले सरकारले कूटनीतिक छलफल गरी यो विषयलाई छिनोफानो गर्नुपर्ने धारणा राख्नुभयो ।

    सदस्य गीतादेवी रेग्मीले बजेटले सुशासन र जनताको जीवनस्तरलाई टेवा दिनसक्ने रहेको भनी खुसी व्यक्त गर्नुभयो ।  सदस्य खड्गबहादुर बस्नेत र डोल्मा तामाङले खानेपानीका लागि बजेटमा गरेको व्यवस्थाले प्रदेशका जनता निकै लाभान्वित हुने बताउनुभयो ।  

विशेष समय

     प्रदेश सदस्य राजेन्द्रकुमार राईले आर्थिक वर्ष २०८३÷८४ को बजेटले जनताप्रति उत्तरदायी बहन गर्न सक्ने जिकिर गर्नुभयो । 
        
शून्य समय

    शून्य समयमा कोशी प्रदेश सदस्य निमसरी राजवंशी र कमल जवेगुले प्रदेशका विविध समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।