असार ११, २०८३ बिहिबार

काठमाडौँ, ११ असार : दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै  फिफा विश्वकप २०२६ को नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको छ ।

     मेक्सिकोको मोन्टेरे स्टेडियममा आज भएको समूह ‘ए’ अन्तर्गत अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको हो ।
    
    दक्षिण अफ्रिकाको जितमा थापेलो मासेकोले गोल गरे । उनले खेलको ६३औँ मिनेटमा गरेको एक गोल नै दक्षिण अफ्रिकाको निर्णायक गोल सावित भयो । चौथोपटक विश्वकप खेलेको दक्षिण अफ्रिकाले पहिलोपटक समूह चरण पार गरेको हो । यसअघि सन् १९९८, २००२ र २०१० मा विश्वकप खेलेको थियो तर समूह चरण भने पार गर्न सकेको थिएन ।

    जितसँगै दक्षिण अफ्रिका समूह ‘ए’ मा ४ अङ्कसहित उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । यसै समूहमा रहेको मेक्सिको समूह विजेता बन्दै नकाउट चरणमा पुगिको छ । 

    आजै भएको अर्को खेलमा मेक्सिकोले  चेकियालाई ३–० ले हराएको थियो । दक्षिण कोरिया ३ अङ्कसहित तेस्रो र चेकिया १ अङ्कसहित पुछारमा रह्यो ।