कात्तिक १०, २०७८ बुधबार

काठमाडौं। नेपाली काँग्रेसले कर्णाली प्रदेशमा बक्रदृष्टि राखेपछि यहाँको राजनीतिमा थप समस्या सिर्जना भएको छ । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकारलाई नयाँ सङ्कट आइपरेको हो । 

माधवकुमार नेपाल पक्षका चार सांसदले ‘फ्लोर क्रस’ गरेरै मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर बनेको सरकारमा अर्को दरार उत्पन्न हुने हो कि भन्ने आशङ्का उत्पन्न भएको छ।

कांग्रेसले पनि विश्वासको मत दिँदै गर्दा माओवादीले काँग्रेससँग कात्तिक १५ पछि आलोपालो सरकार सञ्चालन गर्नेबारे लिखित सम्झौतासमेत गरेको थियो।

सोही सहमतिअनुसार मुख्यमन्त्री शाहीको समयावधि सकिन केही दिन मात्र बाँकी रहेपछि काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अब आफू मुख्यमन्त्री हुने पालो आएको दाबी गर्दै आएका छन् । यसले गठबन्धनमा किचलो सुरु भएको छ ।