असार १५, २०८३ सोमबार

तेह्रथुम, १५ असार  : कृषि ज्ञान केन्द्र, तेह्रथुमले २३औँ राष्ट्रिय धान दिवसको  अवसरमा जिल्लाका छ जना धान उत्पादक किसानलाई आज म्याङलुङ नगरपालिका, १० खाल्डेमा जनही रु चार हजार र सम्मानपत्र प्रदान गरी पुरस्कृत गरिएको छ ।  

 जिल्लाका छ वटै स्थानीय तहका कृषि विकास शाखाबाट छनोट भएका छ थर गाउँपालिकाका चन्द्रबहादुर लिम्बू, फेदापका प्रेमबहादुर कार्की, मेन्छ्यायेमका रुद्रबहादुर कार्की, आठराईका राजेन्द्रकुमार डाँगी, म्याङलुङ गाँउपालिकाका देवेन्द्र खवास र लालिगुराँस नगरपालिकाका डम्बरबहादुर कार्की पुरस्कृत भएका हुन् । 

उहाँहरुलाई प्रमुख जिल्ला अधिकारी बन्दना राई, म्याङलुङ नगरपालिकाका नगरप्रमुख  सञ्जयकुमार तुम्बाहाङफे, उपप्रमुख जमूना कार्की सुवेदी लगायतले पुरस्कृत गर्नुभएको कृषि ज्ञान केन्द्र तेह्रथुमका प्रमुख विशाल राईले जानकारी दिनुभयो । 

जिल्लामा कूल छ हजार ६१५ हेक्टरमा धानखेती हुने गरेको छ ।  यसवर्ष असारको १५ सम्ममा दुई हजार १८८ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ ।  गतवर्ष पर्याप्त वर्षा नहुँदा जिल्लामा छ हजार २८४ हेक्टरमा धान रोपाइँ भएको थियो ।

लालिगुराँस नगरपालिकाको कालीमाटी, मेन्छयायेम गाउँपालिकाको सम्दु, इसिबु र जलजलेका तल्लो भेग तथा आठराई गाउँपालिकाको सङ्क्रान्ती र डाँडागाउँको तल्लो क्षेत्रमा  धान उत्पादन हुने गरेको छ ।

यहाँ स्थानीय जातको ‘बेककुटी’ धान मुख्यरूपमा उत्पादन हुन्छ । त्यसबाहेक पाथिभरा र आठराईका तल्लो क्षेत्रमा कृषि अनुसन्धानबाट विकास गरिएका खुमल–४, खुमल–१० तथा उन्नत जातका अन्य धानखेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।