असार १५, २०८३ सोमबार

चितवन, १५ असार  : भारतको पटनाका दुग्ध उत्पादक किसानको समूह यहाँको दुग्धजन्य वस्तु उत्पादन र बिक्री वितरणको बारेमा अध्ययन गर्न आएको छ ।

 चितवनमा दूध उत्पादनको अवस्था र दुग्धजन्य वस्तुको उत्पादन तथा खपतको बारेमा जानकारी लिन त्यहाँको सुधा डेरीका डेरीका अध्यक्ष सञ्जय कुमारको नेतृत्वमा दुग्ध उत्पादक किसान समूह नेपाल आएको हो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालले चितवनमा दुग्ध उत्पादनका क्षेत्रमा भएका असल अभ्यास र बजारीकरणका बारेमा टोलीलाई जानकारी गराउनुभयो । 

चितवनमा अहिले दैनिक तीन लाख ५० हजार दूध उत्पादन हुँदै आएको छ । यहाँको दूधको स्थानीय बजारसँगै पोखरा, काठमाडौँ लगायतका सहरमा पठाइने गरेको छ ।

कतिपय दुग्ध उत्पादक किसानले बिक्री गरेको दूधको अझै भुक्तानी पाउन नसकेको तथा भोग्न परेका समस्याका बारेमा जानकारी गराएको थियो ।

टोलीले यहाँस्थित दुई वटा डेरी उद्योग, सङ्घले सञ्चालन गरेको डेरीमार्ट लगायतका स्थानको अध्ययन अवलोकनसमेत गरेको छ । सो अवसरमा कुमारले चितवनमा व्यवस्थित तबरले दूध उत्पादन र बिक्री वितरण गरेको भन्दै प्रशंसा गर्नुभयो । 

नेपालमा दुग्ध पदार्थको व्यवस्थित विवरणले आमउपभोक्ताको अधिकार सुनिश्चित गर्न सहज भएको उहाँले बताउनुभयो । 

गाई पकेट क्षेत्रका लागि सामग्री हस्तान्तरण

यहाँको रत्ननगर नगरपालिकालाई गाईको पकेट क्षेत्रको रुपमा विकास गरिएको छ । पशु सेवा कार्यालय चितवनले एक जिल्ला एक विशेष पकेट क्षेत्र कार्यक्रमअन्तर्गत रत्ननगर नगरपालिकालाई गाईको पकेट क्षेत्रको रुपमा विकास गर्न आवश्यक सामग्री हस्तान्तरण गरेको हो ।

 कार्यालयले आज एक कार्यक्रमको आयोजना गरी सामग्री हस्तान्तरण गरेको छ । कार्यालयका प्रमुख डा प्रभात न्यौपानेका अनुसार पालिकाको वडा नम्बर १०, ११, १४, १५ र १६ मा रहेका ११ वटा पशुपन्छी फर्म तथा दुग्ध उत्पादक सहकारी संस्थामार्फत आवश्यक सामग्री वितरण गरिएको हो ।

 गाईपालनका लागि गोठ निर्माणदेखि काउ म्याट, दूध बोक्ने क्यान, घाँस काट्ने च्याफकटर, अटो ड्रिङ्कर, मोटर, ठेला गाडा, मिल्क एनलाइजर जस्ता १२ प्रकारका सामग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । कार्यालयको रु ३५ लाखको लागतमा ती सामग्री खरिद गरी हस्तान्तरण गरेको हो ।

 सो अवसरमा नगरपालिका प्रमुख प्रलाद सापकोटाले दुग्ध उत्पादक किसानलाई स्वरोजगार बनाउन यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो ।