नेपालगन्ज, २२ असारः बाँकेमा चक्ला वनको सङ्ख्या तीन पुगेको छ । दिगो वन संरक्षण र व्यवस्थापनका लागि यस वर्ष राप्तीसोनारी–३ र ४ मा भुवरभवानी तथा वडा नं १ मा खर्चेताल चक्ला वन निर्माण गरेसँगै चक्ला वनको सङ्ख्या तीन पुगेको हो ।
डिभिजन वन कार्यालयका प्रमुख सिनियर डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले जिल्लामा चालु आर्थिक वर्ष २०८२÷८३ मा दुई चक्ला वन थप गरिएको जानकारी दिनुभयो । डिभिजन वन कार्यालयका अनुसार राप्तीसोनारी गाउँपालिकाको माथेवास–शम्शेरगञ्ज क्षेत्रमा यसअघि एक मात्र चक्ला वन रहेकामा चालु आर्थिक वर्षमा थप दुई चक्ला वन निर्माण गरिएको छ ।
सिनियर डिभिजनल वन अधिकृत गुप्ताका अनुसार माथेवास–शम्शेरगञ्ज चक्ला वन क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो चक्ला वन हो । ३१ वटा सामुदायिक वनलाई समेटेर दुई हजार ५७८ हेक्टरमा फैलिएको यस वनमा दिगो तथा व्यावसायिक वन व्यवस्थापन अभ्यास हुँदै आएको छ ।
दिगो वन व्यवस्थापनबाट अहिलेसम्म करिब सात लाख क्युफिट काठको उत्पादन भएको जानकारी दिँदै वन अधिकृत गुप्ताले अर्को आर्थिक वर्षमा करिब नौदेखि १० लाख क्युफिट काठ उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
“वनको हैसियतमा पनि सुधार भएको छ, सालको वनमा सिसौ लगाएर वन व्यवस्थापन गरिएको छ,” उहाँले भन्नुभयो ।
वन व्यवस्थापनबाट सामुदायिक वनका उपभोक्ताले सर्वसुलभ रुपमा काठ प्राप्त गरेको र आम्दानीको स्रोतमा समेत वृद्धि हुँदै गएको वन कार्यालयको भनाइ छ । डिभिजन वन कार्यालयका अनुसार यसअघि सालका पुराना रूख मक्काएर खेर जाने अवस्था रहेको र चक्ला वन व्यवस्थापनमार्फत नयाँ रूख हुर्कन उपयुक्त वातावरण तयार गरिएको छ । उमेर पुगेका रूखलाई निश्चित मापदण्डअनुसार कटान गर्ने र नयाँ रूख हुर्काउने वैज्ञानिक विधि अपनाइएको वन अधिकृत गुप्ताले उल्लेख गर्नुभयो ।
तीन चक्ला वन र ५८ सामुदायिक वन गरी करिब २० हजार हेक्टर क्षेत्रफलमा चक्ला वन तथा सामुदायिक वन संवद्र्धन प्रणालीअन्तर्गत दिगो वन व्यवस्थापन लागू गरिएको डिभिजन वन कार्यालयका योजना शाखा प्रमुख तथा सहायक वन अधिकृत सुशील सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार तीनवटै चक्ला वन र ५८ सामुदायिक वन गरी १९ हजार ६५३ हेक्टर क्षेत्रमा दिगो वन व्यवस्थापन लागू गरिएको छ । चक्ला वनको विकास र विस्तारले वन संरक्षण, राजस्व सङ्कलन तथा स्थानीय रोजगारी सिर्जनामा सहयोग पुगेको विश्वास गरिएको छ ।