असार २२, २०८३ सोमबार

चितवन, २२ असार :  चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी फल) मा ढुसीजन्य रोगको सङ्क्रमण फैलिन थालेपछि उत्पादनमा गिरावट आएको छ । 

    जिल्लाका अधिकांश ड्रागन फार्ममा यो समस्या देखिएको कृषि प्राविधिकले बताएका छन् । कृषि विकास कार्यालय चितवनका बागबानी विकास अधिकृत स्वस्तीका चौहानका अनुसार जिल्लामा २४ हेक्टर क्षेत्रफलमा गरिएको ड्रागन फल खेतीमध्ये धेरैजसोमा ढुसीजन्य रोगको सङ्क्रमण देखिएको छ ।

    उहाँले कोलेटोट्रिचम नामक ढुसीका कारण फलमा कोत्रे रोग लाग्ने जानकारी दिनुभयो । उक्त रोगका कारण फल पहेँलिने, दानामा खैरा थोप्ला देखिने, फल कालो हुँदै चाउरिने तथा अन्ततः फुट्ने समस्या देखापर्छ । 

    “बिरुवामा सुरुमा सङ्क्रमण भएपछि मात्रै फलमा रोग देखिन्छ । बिरुवाको डाँठमा पहिल्यै थोप्ला देखिन थाल्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार सङ्क्रमित फल बजारमा बिक्रीयोग्य नहुने भएकाले किसानले आर्थिक क्षति बेहोर्नुपरेको छ ।

    रोगको प्रारम्भिक अवस्थामै नियन्त्रण गर्न सके उत्पादन र बजारीकरणमा ठूलो असर नपर्ने उहाँको भनाइ छ । बिरुवामा रोगको लक्षण देखिनेबित्तिकै प्रतिलिटर पानीमा दुई ग्राम कपर अक्सिक्लोराइड मिसाएर छर्कन उपयुक्त हुने उहाँले बताउनुभयो । बिरुवा रोप्दा चोटपटक नलागेका, स्वस्थ र रोगमुक्त बिरुवा मात्र छनोट गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । 

    चितवनमा हाल २४ हेक्टर क्षेत्रफलमा ड्रागन फलखेती हुँदै आएको छ भने वार्षिक करिब २८८ मेट्रिकटन उत्पादन हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्क छ ।