तनहुँ, २३ असार : यहाँस्थित किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ । घिरिङ गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कम्वाइन मिल र हाते ट्रयाक्टर वितरण गरिएको हो ।
पालिकाको रु ७५ लाख र किसानको ७५ लाख गरी रु एक करोड ५० लाखका लागतमा कृषि उपकरण खरिद गरिएको पालिकाका अध्यक्ष होमबहादुर थापाले बताउनुभयो ।
किसानका माग बमोजिम नौ हर्षपावरका १२० र सात हर्षपावरका ६० वटा हाते ट्रयाक्टर वितरण गरिएको छ । अध्यक्ष थापाले यसवर्ष १८० वटा हाते ट्रयाक्टर र कुटानी पिसानीका लागि १०० कम्वाइन मिल पनि वितरण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गतवर्ष पनि कृषि उपकरणका लागि गाउँपालिकाले रु ७० लाख विनियोजन गरेको थियो ।” घरै पिच्छे कृषि यन्त्रिकरण भएपछि खेतबारी जोत्न छिटोछरितोका साथै कम जनशक्तिमा धेरै क्षेत्रफलमा खेती गर्न सहज भएको छ ।
गाउँपालिकाभित्रका जग्गा बाँझो नराख्ने गरेको भेटिए पनि बाँदर आतङ्कका कारण किसानले सास्ती खेप्नुपरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।
गाउँघरमा कृषि यन्त्रिकरण भित्रिएसँगै गोरु पाल्ने परम्परा हराउँदै गएको छ ।