असार २३, २०८३ मंगलबार

भक्तपुर, २३ असार : बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले प्रदेशका १३ वटा जिल्लामा पर्यटन क्षेत्रको विकासका लागि आगामी आवको बजेटमा रु चार अर्बको बजेट विनियोजन गरेको बताउनुभएको छ ।

    मन्त्रालयको आयोजना तथा राष्ट्रिय सञ्चार केन्द्र नेपालको सहकार्यमा केन्द्रमा आज यहाँ आयोजना गरेको पर्यटन क्षेत्रको सम्भावना, चुनौती र भावी कार्यदिशा विषयक अन्तरक्रिया उहाँले नेपालको आयको मूल आधार पर्यटनलाई बनाउन सकिने बताउनुभयो । 

    उहाँले नेपालको छिमेकी मुलुक भारत र चीनका नागरिकलाई मात्रै नेपालका पर्यटकका रूपमा भित्र्याउन सके पर्यटन व्यवसायदेखि देशको अर्थतन्त्रले ठूलो फड्को मार्ने बताउनुभयो । 

    नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले चालु आर्थिक वर्षमा नेपाल सरकारले आन्तरिक तथा बाह्य गरी १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा हालसम्म करिब १३ लाख पर्यटकको आगमन भइसकेको बताउनुभयो । 

    पर्यटन क्षेत्र नै राज्यको आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उहाँले कूल अर्थतन्त्रमा पर्यटन क्षेत्रको २.५ प्रतिशत योगदान रहेको बताउनुभयो । पर्यटन क्षेत्रमा प्राथमिकता, पूर्वाधार र प्रवर्द्धनमा तीन वटै तहका सरकारको समन्वय अपरिहार्य रहेको उहाँको भनाइ थियो । 

    होटल व्यवसायी महासङ्घ नेपाल बागमतीका अध्यक्ष दामोदर नेपालले नेपाल पर्यटन क्षेत्रमा सम्भावनाको खानी भएको चर्चा गर्दै गाउँ–गाउँका पर्यटकीय क्षेत्रको विकास अपरिहार्य रहेको औँल्याउनुभयो ।

    होटल सङ्घ नेपाल बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले लगानीकर्ताले पर्यटन व्यवसायमा लगानी गर्न चुनौती रहेको बताउँदै देशको आर्थिक उन्नति गर्न होमस्टेको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा मध्यपुरथिमि नगरपालिका–३ अध्यक्ष कृष्णहरि आचार्य, बागमती प्रदेश पर्यटन कार्यालय काठमाडौँका प्रमुख पदम पोखरेल, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, संस्थाका उपाध्यक्ष पुष्करराज बुढाथोकी र सल्लाहकार दिवश गुरागाईंले पर्यटन क्षेत्रको विकासका लागि तीन तहकै सरकार सक्रिय हुनुपर्ने बताउनुभयो । संस्थाका अध्यक्ष पेशलकुमार आचार्यले पर्यटन क्षेत्रको विकास तीन तहकै सरकारको चासो हुनुपर्ने र ओझेलमा पर्न नहुने बताउनुभयो ।