विराटनगर, २३ असार : विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा मासु व्यवसायीलाई डिप फ्रिज र कृषक समूहलाई सिँचाइ मोटर वितरण गरेको छ ।
महानगर परिसरमा आज आयोजित कार्यक्रममा नेपाल सरकारको ‘मिट मार्ट’ कार्यक्रमअन्तर्गत सशर्त अनुदानमार्फत मापदण्ड पूरा गरी सञ्चालनमा रहेका सात वटा मासु पसललाई डिप फ्रिज हस्तान्तरण गरिएको हो । साथै, महानगरले ५० प्रतिशत अनुदानमा विभिन्न वडामा सक्रिय कृषक समूहलाई ३८ वटा सिँचाइ मोटर पनि उपलब्ध गराएको छ । खाद्य स्वच्छता प्रवर्द्धन तथा कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले अनुदानमा सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले डिप फ्रिज तथा सिँचाइ मोटर हस्तान्तरण गर्नुभयो ।
महानगरको कृषि तथा पशुपन्छी शाखाका प्रमुख हिरालाल यादवका अनुसार आधुनिक भण्डारण प्रणालीमार्फत मासुको गुणस्तर, स्वच्छता र सुरक्षा सुनिश्चित गर्दै उपभोक्तालाई गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले डिप फ्रिज वितरण गरिएको हो ।
पर्याप्त सिँचाइ सुविधाको अभावका कारण खेतीयोग्य जमिनको पूर्ण उपयोग हुन नसकिरहेको अवस्थालाई न्यूनीकरण गर्दै वर्षभरि खेती विस्तार गर्न सिँचाइ मोटर वितरण कार्यक्रमले सहयोग पुग्ने महानगरको विश्वास छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शर्माले महानगरबाट उपलब्ध गराइएका डिप फ्रिज र सिँचाइ मोटरको प्रभावकारी तथा जिम्मेवारीपूर्वक उपयोग गर्न सम्बन्धित लाभग्राहीलाई आग्रह गर्नुभयो ।
महानगरका अनुसार विराटनगरभित्र करिब एक हजार ३७५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । वडा नं ३, ४, ५, ६, ८, ११, १२, १४, १६, १७, १८ र १९ मा कृषियोग्य क्षेत्र बढी रहेकाले सिँचाइ पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिएको छ ।