कञ्चनपुर, २४ असारः कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई मङ्गलबार आधुनिक कृषि उपकरण वितरण गरेको छ ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत नगरपालिकाको कृषि विकास शाखाले कृषक, कृषक समूह तथा कृषि फार्मलाई १८२ थान यन्त्र तथा उपकरण हस्तान्तरण गरेको हो । कार्यक्रमका लागि नगरपालिका र लाभग्राही किसानले समान रु ४२ लाख बराबरको लगानी गरेका छन् ।
नगरपालिकाको कृषि विकास शाखाका प्राविधिक सहायक हरिश सेठीका अनुसार वितरण गरिएका सामग्रीमा ९२ थान सिँचाइका विद्युतीय मोटर, १७ थान पम्पसेट, १० थान मिनी टिलर, पाँच थान रोटाभेटर, १० थान कल्टिभेटर र १० थान २२ हर्ष पावरका पावर टिलर वितरण गरिएको छ ।
यसैगरी, पाँच थान चारचक्के पावर टिलर, दुई थान सुगरकेन मल्चर, दुई थान राजाहल, दुई थान रिपर, दुई थान कम्बाइन मिल, दुई थान लेजर ल्यान्ड लेभलर, एक थान रिजर, पाँच थान पावर स्प्रेयर तथा ट्रेन्चरलगायत सामग्री किसानलाई वितरण गरिएको छ ।
उपकरण वितरण कार्यक्रममा नगर प्रमुख पोतिलाल चौधरीले कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने लक्ष्यसहित नगरपालिकाले निरन्तर लगानी गर्दै आएको बताउनुभयो ।
आधुनिक उपकरणको प्रयोगले श्रम अभाव न्यूनीकरण हुनुका साथै उत्पादन लागत घट्ने, समयमै खेतीपाती सम्पन्न हुने र किसानको आम्दानी वृद्धि हुने उहाँको विश्वास छ ।
नगर उपप्रमुख जोगराम चौधरीले बेलौरीको आर्थिक समृद्धिको मुख्य आधार कृषि भएकाले आधुनिक प्रविधिमा आधारित खेती प्रणाली विस्तार गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
कृषि विकास शाखाका प्रमुख सुमनराज जोशीले कृषि यान्त्रिकीकरण कार्यक्रमले खेतीपाती समयमै सम्पन्न गराउने, उत्पादन लागत घटाउने र उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । आधुनिक कृषि उपकरणको प्रयोगले व्यावसायिक खेती विस्तारसँगै किसानको आर्थिक अवस्था सुधारमा सकारात्मक योगदान पुग्ने उहाँको भनाइ छ ।
बेलौरी नगरपालिकाले पछिल्ला वर्षहरूमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न अनुदान, प्रविधि हस्तान्तरण तथा यान्त्रिकीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।