विराटनगर, २४ असारः कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ बहुमतले पारित भएको छ ।
सो विधेयक कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले सदनमा पारित गरियोस् भनी गर्नु भएको प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको हो । यसअघि उक्त विधेयकमा कोशी प्रदेशसभा सदस्य गोम्बू शेर्पा र सपना दर्जीले बेग्लाबेग्लै शीर्षकमा खर्च कटौतीका लागि गर्नु भएको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
यसैगरी, ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री लिथेपले सो विधेयक पारित गरियोस् भनी सदनमा गर्नुभएको प्रस्तावमा सभामुख विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।
प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।