असार २४, २०८३ बुधबार

सुदूरपश्चिम, २४ असार : सुदूरपश्चिम प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट यस वर्ष चार कृषकलाई पुरस्कृत गरेको छ । 

    कृषिकर्मका माध्यमबाट महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै थप  चार जनालाई सम्मान गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले जानकारी दिनुभयो । 

    पुरस्कृत हुनेमा नौगाड गाउँपालिका–२, दार्चुलाका धनसिंह सितोली, घोडाघोडी नगरपालिका–२, कैलालीका मनोज खनाल, चुरे गाउँपालिका–१, कैलालीकी रिताकुमारी देउवा र वेदकोट नगरपालिका–५, कञ्चनपुरका कलुवा कामी रहनुभएको छ । 

    उहाँहरुलाई आज धनगढीमा आयोजित एक कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले जनही रु ७५ हजार र सम्मानपत्रसहित पुरस्कृत गर्नुभयो ।  

    पुरस्कृत कृषकमध्ये वेदकोटका कामीले तीन बिघामा तथा दार्चुलाका सितोलीले १५ रोपनी जग्गामा व्यावसायिक तरकारीखेती गरिरहनुभएको छ । कैलालीकी देउवाले फलफूलखेती र सुन्तलाका बोट उत्पादन गर्दै आउनुभएको छ भने घोडाघोडीका खनालले व्यावसायिक रुपमा १७ बिघामा माछापालन गर्दै आउनुभएको छ । उहाँले वार्षिक रुपमा करिब ५०० मेट्रिकटन माछा उत्पादन गरिरहनुभएको छ । 
    
    कार्यक्रममा मन्त्री थापाले तत्कालीन समयमा ‘कि त जोत हलो, नत्र छोड थलो’, ‘जसको जोत उसकै पोत’ भन्ने क्रान्तिकारी किसान नेता भीमदत्त पन्तका नाममा स्थापित पुरस्कार प्राप्त गर्नु किसानका लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले पुरस्कार प्राप्त किसानले थप उत्साहका साथ काम गरी अन्य व्यक्तिलाई पनि कृषितर्फ लाग्न अभिप्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । 

    हरेक वर्ष प्रदेश सरकारले कृषिलाई सम्मानित पेसाका रुपमा विकास गर्ने ध्येयसहित किसानलाई पुरस्कार एवं सम्मान गर्दै आएको छ ।

    उहाँले भन्नुभयो, “किसान अन्नदाता हुन्, त्यसैले उहाँहरुको सम्मान आवश्यक छ । साथै उत्पादन लागत घटाउन प्रविधिको प्रयोग, जलवायुसँग अनुकूलित हुने कृषि प्रणालीको अभ्यास र उत्पादनको बजारीकरणका लागि सरकारले काम गर्छ । सबै मिलेर कृषिमार्फत देश विकासको आधार निर्माण गर्नुपर्छ ।” 

    मन्त्रालयका सचिव साहले कृषिबाटै सम्मानित जीवन र देशको कुल गार्हस्थ उत्पादनमा पनि बढी योगदान दिनेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

    पुरस्कृत किसानले प्रदेश सरकारले विगत वर्षदेखि नै किसानलाई सम्मान र हौसला प्रदान गर्दै आएकामा खुसी व्यक्त गर्नुभयो ।
 
    असार १५ गते जिल्ला तथा आर्थिक वर्षभित्र जिल्लामा छनोट भएका उत्कृष्ट कृषकमध्येबाट प्रदेश तहमा पुरस्कृत गरिँदै आएको छ ।