असार २५, २०८३ बिहिबार

गण्डकी, २५ असारः गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट र मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबीच बुधबार भेटवार्ता भएको छ । 

अन्तर–प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुग्नुभएका मधेस प्रदेश प्रमुख कर्णसँग पोखरास्थित निवासमा प्रदेश प्रमुख भट्टको भेटवार्ता भएको हो । 

भेटका क्रममा दुई प्रदेशबीच सम्बन्ध थप प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । प्रदेश प्रमुखद्वयबीच प्रदेशमा भएका राम्रा कामहरूको अनुशरण गर्ने, अनुभवहरू साटासाट गर्ने विषयमा छलफल भएको थियो ।

उहाँहरूले आ–आफ्नो प्रदेशको वस्तुस्थिति र भएगरेका गतिविधिबारे अनुभव साझा गर्नुभएको थियो । प्रदेशको संस्थागत विकास र मर्यादा बढाउन संविधान कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेकोमा उहाँहरूको जोड थियो ।

गण्डकी प्रदेश प्रमुख भट्टले कानुनतः सरकारका प्रतिनिधिका रूपमा आ–आफ्ना प्रदेशमा जिम्मेवारी वहन गरिरहेकाले सङ्घ सरकार र प्रदेश सरकारसँगको समन्वयकर्ताका रूपमा आफूहरू रहेको बताउनुभयो । मधेस प्रदेश प्रमुख कर्णले राष्ट्रिय एकताको अभियानकै रुपमा आफू सातै प्रदेशको भ्रमणमा रहेको जानकारी दिनुभयो ।

स्वागत कार्यक्रममा गण्डकी प्रदेश प्रमुख कार्यालयका सचिव विजय राना, मधेस प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद दाहाल, गण्डकी प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव रञ्जन अधिकारीलगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा मधेस प्रदेश प्रमुख कर्णले गण्डकी प्रदेश प्रमुख भट्टलाई आफ्नो प्रदेशमा भ्रमणका लागि निमन्त्रणा पनि गर्नुभयो ।