खार्तुम, २८ असार : सुडानको एक अदालतले आइतबार अर्धसैनिक नेता मोहम्मद हमदान दाग्लो र अन्य १५ जनालाई अनुपस्थितिमा मृत्युदण्डको फैसला सुनाएको छ। उनीहरूमाथि क्षेत्रीय गभर्नरको हत्या र डारफरमा युद्ध अपराध गरेको आरोप रहेको छ ।
यो फैसला सन् २०२३ अप्रिलमा अर्धसैनिक समूह र सुडानी सेनाबीच युद्ध सुरु भएपछि आरएसएफको नेतृत्वविरुद्ध पहिलो फैसला हो।
“‘रेड सी’ नजिकैको शहर पोर्ट सुडानमा रहेको अदालतले दाग्लो र अन्य प्रतिवादीहरूलाई युद्ध अपराध, मानवता विरुद्धको अपराध, नरसंहार र नागरिक तथा सार्वजनिक सुविधाहरूमाथि आक्रमण गरेको आरोपमा दोषी ठहर गरिएको छ,” सुना न्यूज एजेन्सीले अदालतको फैसलालाई उद्धृत गर्दै लेखेको छ।
दोषी ठहरिएकाहरूमध्ये दाग्लोका भाई तथा उपनेता अब्देलरहीम हमदान दाग्लो, आरएसएफका केही अधिकारी र पश्चिम डारफरका अरब समुदायका जनजाति नेताहरू पनि छन् ।
यो मुद्दा सन् २०२३ जुनमा पश्चिम डारफरका गभर्नर खामिस अब्बाकरको हत्यासँग जोडिएको छ। आरएसएफ सेनाले राज्यको राजधानी एल–जेनिना कब्जा गरेको केही समयपछि उहाँको हत्या भएको थियो ।
अब्बाकरलाई आरएसएफ र सहयोगी लडाकूले नागरिकहरूमाथि आक्रमण गरेको आरोप लगाएको केही घण्टापछि मारिएको थियो।
संयुक्त राष्ट्रसङ्घका विशेषज्ञहरूले निर्धारण गरे अनुसार एल–जेनिनामा हिंसाका क्रममा १० हजारदेखि १५ हजारसम्म मानिस मारिएका थिए, जसमध्ये अधिकांश मसालित जातिका थिए।
आरएसएफले नरसंहार र अन्य युद्ध अपराधको आरोप बारम्बार अस्वीकार गर्दै आएको छ।
अदालतले यो मुद्दालाई सर्वोच्च अदालतमा समीक्षाका लागि पठाउने र दोषी ठहरिएकाहरूलाई इन्टरपोल तथा अन्य अन्तर्राष्ट्रिय च्यानलहरू मार्फत पक्राउ र प्रत्यर्पण गर्न खोज्ने बताएको छ।
सुडानी सेनाका नेता अब्देल फत्ताह अल–बुर्हान र दाग्लोले सन् २०२१ मा संयुक्त रूपमा सैनिक कू गरेका थिए जसले सुडानको नागरिक शासनतर्फको सङ्क्रमणलाई बिगारेको थियो र पछि आरएसएफलाई नियमित सेनामा गाभ्ने योजनामा उनीहरूबीच विवाद भएर युद्ध निम्तिएको थियो।
अहिले चौथो वर्षमा रहेको सेना र आरएसएफबीचको यो द्वन्द्वमा हजारौँ मानिस मारिएका छन्, एक करोड १० लाखभन्दा बढी विस्थापित भएका छन् र संयुक्त राष्ट्रसङ्घले यसलाई विश्वको सबैभन्दा ठूलो विस्थापन तथा भोकमरी सङ्कट भनेको छ ।