तनहुँ, २८ असारः नेपालका मौलिक भाषा, लिपि र संस्कृतिहरू लोप हुने जोखिम बढिरहेका बेला तनहुँमा पुस्तान्तरणमार्फत तमु (गुरुङ) भाषा र संस्कृति जोगाउन पहल थालिएको छ ।
व्यास नगरपालिका–१ विज्ञानचौर, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले आफ्नै आन्तरिक स्रोतसाधन परिचालन गरी सातदिने ‘तमु भाषा तथा लिपि प्रशिक्षक प्रशिक्षण तालिम’ सञ्चालनमा ल्याएको हो । आदिवासी जनजाति भाषा तथा संस्कृति सम्बद्र्धन एवं विकास समिति’को आयोजनामा सञ्चालन गरिएको तालिममा सहभागी प्रशिक्षार्थीहरूले प्रशिक्षणपछि आ–आफ्ना पालिका तथा समुदायमा पुगेर तमु भाषा र लिपिको प्रशिक्षण अभियान सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।
नयाँ पुस्तामा आफ्नो मौलिक पहिचान हस्तान्तरण गर्न र भाषालाई जीवन्त राख्न यो तालिम कोशेढुङ्गा सावित हुने अपेक्षा लिइएको समितिका संयोजक ठाकुर बहादुर दरैले बताउनुभयो । शनिबारदेखि क्याम्पसको तालिम कक्षमा सुरु भएको उक्त तालिमलाई भाषा र संस्कृतिको संरक्षणका लागि स्थानीय तहबाट सुरु गरिएकाले महत्वका साथ हेरिएको छ ।
यसबाट भाषा संरक्षणको प्रयास सीमित वर्गमा नभई समुदायस्तरसम्म विस्तार हुने अपेक्षा गरिएको छ । सो अवसरमा उहाँले नयाँ पुस्तामा मातृभाषा बोल्ने र लिपी लेख्ने संस्कार कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै भाषा हराए समुदायको पहिचान नै मेटिने बताउनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारले भाषा, संस्कृति, कला र साहित्यको संरक्षण गर्नु सामुदायिक क्याम्पसको सामाजिक दायित्व भएको बताउनुभयो । क्याम्पसले गत वर्ष मगर भाषाको संरक्षणका कार्यक्रम सञ्चालन गरेको र यसवर्ष गुरुङ भाषा तथा संस्कृतिको प्रवद्र्धनमा केन्द्रित भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा सञ्चालक समितिका निवर्तमान अध्यक्ष बुद्धिमान श्रेष्ठ, उपाध्यक्ष श्रीराम कार्कीलगायतले भाषा संरक्षणका अभियानमा समुदायको साझा सहभागिता आवश्यक रहेको धारणा राख्नुभएको थियो ।