असार २९, २०८३ सोमबार

कास्की, २९ असारः गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन आदिकवि भानुभक्तको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । 

    आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान पोखराले आज आयोजना गरेको विशेष समारोहमा उहाँले विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत जोड्ने काम भानुभक्तले गर्नुभएको बताउनुभयो । 

    प्रदेश प्रमुख भट्टले भन्नुभयो, “भानुभक्तका कृतिमा धार्मिक भावना मात्र होइन, लोककल्याणको गहिरो चेतना समेत पाइन्छ । उहाँका कृतिहरुलाई सिर्जनात्मक अभ्यासमार्फत नयाँ पुस्तासम्म पु¥याउनु आवश्यक छ ।” 

    आदिकवि विश्वभरका नेपाली भाषी बीचमा भाषा तथा साहित्य फैलाउने सेतुका रुपमा स्थापित रहनुभएको बताउँदै उहाँले भन्नुभयो, “भानुको साहित्यिक योगदानले भाषा र समाजबीचको सम्बन्धलाई सुदृढ बनाउँदै नेपालीपनको साझा भावना निर्माणमा उल्लेखनीय भूमिका खेलेको छ । भानुभक्तले नेपालीलाई एउटै भाषिक सूत्रमा बाँध्ने प्रेरणा दिनुभएको छ ।” 

    भानुभक्तले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल, सहज र जनबोलीको नेपाली भाषामा रूपान्तरण गरी साहित्यलाई जनसामान्यको जीवनसँग जोड्नुभएकाले यही ऐतिहासिक योगदानले नेपाली भाषालाई साझा सांस्कृतिक चेतनाको माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण आधार तयार गरेको उहाँको भनाइ छ । 

    भानु वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष हनिफ मियाँ, पोखरा–११ का वडासदस्य रनशुभा गुरुङ, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति दुर्गा शाह, पोखरा प्रज्ञा प्रतिष्ठानका निर्वतमान कुलपति पद्मराज ढकाल लगायतले भाषा र साहित्यमार्फत आदिकवी भानुभक्तले नेपालको एकीकरणमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो । समारोहमा विभिन्न साहित्यिक व्यक्तित्वले भानुभक्तीय रचना वाचन गर्नुभयो ।

    त्यस अवसरमा नेपाली विषयका शिक्षक टेकनाथ पोखरेललाई भानु शैक्षिक पुरस्कार र पृथ्वीनारायण क्याम्पसबाट स्नाकोत्तर तहमा नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने जमुना रिजाल नगदसहित पुरस्कृत गरियो । यसअघि मानवअधिकारचोकबाट आयोजना गरिएको प्रभातफेरीमा सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, आमा समूहको सहभागिता थियो ।