दमौली (तनहुँ), २९ असारः भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला वर्षमा ओझेलमा पर्न थालेपछि संस्कृति संरक्षणमा सक्रियता बढेको छ । भुजेल समाज सेवा समिति तनहुँले देवघाट गाउँपालिका-१ स्थित बसेनीटारमा मौलिक चुड्का नाच प्रदर्शनी आयोजना गरी संस्कृति संरक्षणमा पहल थालेको हो ।
आधुनिक जीवनशैली, गाउँबाट सहरतर्फको बसाइँसराइ, वैदेशिक रोजगारी र नयाँपुस्तामा मौलिक संस्कृतिप्रतिको घट्दो चासोका कारण पुस्तौँदेखि जोगिँदै आएको यो परम्परा अहिले संरक्षणको प्रतिक्षामा छ । यही चिन्तालाई अवसरमा बदल्ने प्रयासस्वरूप समितिले मौलिक चुड्का नाच प्रदर्शनी आयोजना गरेको हो ।
कार्यक्रममा तनहुँसहित आसपासका क्षेत्रबाट आएका आठ टोलीले चुड्का र कौरा नाच प्रस्तुत गरेका छन् । प्रत्येक प्रस्तुतिमा भुजेल समुदायको इतिहास, जीवनशैली, प्रकृतिसँगको सम्बन्ध र सामूहिक संस्कृतिको झल्को देखिन्थ्यो । देवघाट-१ स्थित बसेनीटार पुग्ने जोकोहीले गाउँमा केही विशेष भइरहेको सहजै अनुमान गर्न सक्थ्ये । खुला चौरमा परम्परागत पोशाकमा सजिएका महिला, पुरुष, युवा र ज्येष्ठ नागरिकको घुँइचो थियो ।
केही क्षणमा जब चुड्काको तालमा कलाकारका पाइला अघि बढे चौरमा उपस्थित सबैको ध्यान एउटै दृश्यमा केन्द्रित भयो । त्यो केवल एउटा नाच थिएन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको एउटा जीवन्त इतिहास थियो । दर्शकमाझ बसेका धेरै ज्येष्ठ नागरिकका अनुहारमा पुराना दिनहरूको सम्झना झल्किन्थ्यो भने युवापुस्ता उत्सुकतापूर्वक आफ्ना पुर्खाको सांस्कृतिक सम्पदालाई नियालिरहेको देखिन्थ्यो । एउटै चौरमा दुई पुस्ता भेटिएका थिए, एकातिर संस्कृति जोगाएर ल्याएको पुस्ता, अर्कोतिर त्यसलाई बुझ्न र सिक्न खोजिरहेको नयाँपुस्ता ।
भुजेल समाज सेवा समितिका अध्यक्ष पृथ्वी भुजेलले यो कार्यक्रम मनोरञ्जनका लागि मात्र आयोजना नगरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यदि आजैदेखि संरक्षणमा लागिएन भने केही वर्षपछि चुड्का नाच पुस्तकका पानामा मात्र सीमित हुन सक्छ । हाम्रो उद्देश्य नयाँपुस्तालाई आफ्नै संस्कृति चिनाउने र हस्तान्तरण गर्ने हो ।”
भुजेल महिला समाजकी केन्द्रीय अध्यक्ष बसुन्धरा घर्तीले भुजेल समुदायको संस्कृति संरक्षणलाई अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । नेपालका धेरै आदिवासी तथा जनजाति समुदायझैँ भुजेल समुदाय पनि आफ्नो भाषा, संस्कृति र परम्परा जोगाउने चुनौतीसँग सङ्घर्ष गरिरहेकाले यसको सबैको सहकार्य र समन्वय आवश्यक पर्ने उहाँको भनाइ छ । यस्ता कार्यक्रमले समुदायलाई एकताबद्ध गर्नुका साथै आफ्नो पहिचानप्रति गर्व गर्ने वातावरण सिर्जना गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले भाषा, भेषभूषा र संस्कृतिलाई कुनै पनि समुदायको पहिचानको मेरुदण्डका रूपमा व्याख्या गर्नुभयो । उहाँले भुजेल समुदायको चुड्का नाच देवघाटको मात्र नभई राष्ट्रकै साझा सांस्कृतिक सम्पदा भएकाले यसको संरक्षणमा स्थानीय सरकार सधैँ सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।