असार २९, २०८३ सोमबार

काठमाडौँ, २९ असारः राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले आमसञ्चार माध्यमलाई नियन्त्रण गर्ने आफ्नो रास्वपाको कुनै पनि उद्देश्य नरहेको स्पष्ट पार्नुभएको छ । पार्टी संसदीय दलले आज संसदीय मामिला विषयसँग सम्बद्ध पत्रकारहरूसँग गरेको छलफलमा उहाँले लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

    रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले आफूहरू जनताले दिएको जनमतअनुसार परिणाममुखी काम गर्न लागिपरेको उल्लेख गर्दै  सञ्चार माध्यमलाई सकारात्मक काममा सहयोग गर्न आग्रह गर्नुभयो । रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले आफूहरूले सञ्चारमाध्यमसँगको सहकार्यलाई घनिष्ठ बनाइ संसदीय प्रक्रियामा काम गर्ने बताउनुभयो । संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्याल, अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीलगायतले संसदीय अभ्यासमा सञ्चारकर्मीको भूमिकाबारे प्रकाश पार्दै सोसम्बन्धी अनुभव आदानप्रदान गर्नुभयो ।

    छलफलमा महिला तथा सामाजिक समितिका सभापति आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारी, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुम्नीमा उदास, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) का सभापति गणेश कार्की, कानुन न्याय तथा मानवअधिकार समितिका सभापति समीक्षा बास्कोटा, संसदीय सुनुवाई समिति (संयुक्त) का सभापति बोधनारायण श्रेष्ठलगायतको सहभागिता थियो ।