असार ३०, २०८३ मंगलबार

काठमाडौँ, ३० असारः प्रतिनिधिसभाका सांसदहरुले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले समयमै रासायनिक मल उपलब्ध गराउनुपर्ने, सुकुमवासीका समस्या समाधान गर्नुपर्ने, विपत्को पूर्व तयारीलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।  

    बैठकमा सांसद सन्दीप रानाले भन्नुभयो, “मल नपाएर हाहाकार भएको छ, रेबीज र क्यान्सरका बिरामी उपचार नपाएर अलपत्र छन्, बालबालिका कुपोषणका शिकार भएका छन्, युवाहरु विदेश पलायन भएका छन् । यसमा सरकारको ध्यान जाओस् ।”

    सांसद अर्जुनकुमार कार्कीले लोकतन्त्रका लागि लडेका प्रतिपक्ष र सत्तापक्ष दुवैले कानुन र विधिलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।  

    सांसद गोपाल शर्माले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो । सांसद आरेन राइले सरकारले सुकुमबासी समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्ने माग गर्नुभयो । 

    सांसद खुश्बु ओलीले कीर्तिपुरको जलन अस्पताललाई व्यवस्थित र सुविधा सम्पन्न बनाउनुपर्ने बताउनुभयो । 

    सांसद राजकिशोर महतोले मुलुकलाई आत्मनिर्भर बनाउन हर्बल सामाग्रीको बजारीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

    सांसद रिना उप्रेतीले सोमबार सञ्चार गृहका प्रवेशद्वार अगाडी गाडी पार्किङ गरिएको घटनाको निष्पक्ष रुपमा छानवीन गर्न सरकार समक्ष माग गर्नुभयो । 

    सांसद विष्णुमाया विकले सरकार जनताप्रति जवाफदेही हुनुपर्ने बताउनुभयो । सांसद गणेशबहादुर विश्वकर्माले सरकारले सय दिनको अवधिमा गरेका काम उल्लेखनीय भए पनि अझै जनअपेक्षा अनुसार काम गर्न बाँकी रहेको बताउनुभयो । 

    सांसद पुकार बमले बुढानिलकण्ठ क्षेत्र पहिरोको जोखिममा रहेको उल्लेख गर्दै दीर्घकालीन सुरक्षाको नीति अपनाउन सरकारसँग आग्रह गर्नुभयो । सांसद एसुदाकुमारी बरालले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा बाढी÷पहिरोबाट जनधनको क्षति भएकाले प्रभावितको उद्धारका साथै राहत उपलब्ध गराउन सरकारको ध्यानाकषर्ण गराउनुभयो । 

    सांसद कृष्णहरि बुढाथोकीले भन्नुभयो, “कुन कुन सडक सञ्चालनमा छन्, कुन सडकमा पहिरो गएको छ, कुन ठाउँमा पुल र सडकखण्ड असुरक्षित छ, कुन मार्गमा सवारीसाधन सञ्चालन गर्न उपयुक्त छ, त्यसबारे सरकारले समयमै जानकारी दिने व्यवस्था मिलाउनुपर्छ ।”

    सांसद खगेन्द्र सुनारले जातीेय विभेद र हिंसाका घटनाबारे सरकारको ध्यान जाओस् भन्नुभयो । 

    सांसदहरु लिमा अधिकारी आचार्य, गणेश कार्की, समीक्षा बाँस्कोटा, गणेश पौड्याल र बशुमाया तामाङ, झविलाल डुम्रे, श्रीधर पोखरेल, सुशान्त वैदिक, हरिप्रसाद भुषाल, जनकसिंह धामी, यज्ञमणि न्यौपानेलगायतले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।