ब्रसेल्स, ३० असार : सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९ मा उच्चतम विन्दुमा पुग्ने र त्यसपछि दीर्घकालीन रूपमा घट्दै जाने प्रक्षेपण गरिएको छ । मङ्गलबार सार्वजनिक गरिएको एक प्रतिवेदनले वृद्ध बन्दै गएको जनसङ्ख्याले भविष्यमा सामाजिक तथा आर्थिक क्षेत्रमा चुनौती थप्ने जनाएको छ ।
प्रतिवेदनअनुसार हाल इयूको जनसङ्ख्या ४५ करोड छ लाख रहेकोमा सन् २०२९ सम्म ४५ करोड ३३ लाख पुग्नेछ । त्यसपछि भने जनसङ्ख्या क्रमशः घट्दै सन् २१०० सम्म ३९ करोड ८८ लाखमा सीमित हुने अनुमान गरिएको छ । यो हालको तुलनामा करिब ११ दशमलव ७ प्रतिशतको गिरावट हो ।
सुधारिएको स्वास्थ्य सेवा, जीवनस्तर र सामाजिक अवस्थाका कारण युरोपेलीको औसत आयु निरन्तर बढिरहेको छ । इयूको संयुक्त अनुसन्धान केन्द्रका अनुसार सन् २०२४ मा जन्मका बेला औसत आयु ८१ दशमलव पाँच वर्ष पुगेको थियो ।
प्रतिवेदनमा सन् २०५० सम्म इयूका प्रत्येक तीन जनामध्ये एक जनाको उमेर ६५ वर्ष वा सोभन्दा बढी हुने उल्लेख गरिएको छ । हाल यो अनुपात पाँच जनामध्ये एक रहेको छ । सन् २१०० सम्म महिलाको औसत आयु ९० वर्ष र पुरुषको ८६ वर्षभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ ।
वृद्ध जनसङ्ख्याको बढ्दो अनुपातले श्रमशक्ति अभाव, सार्वजनिक वित्तमा दबाब तथा स्वास्थ्य, हेरचाह र शिक्षा प्रणालीमा चुनौती थप्ने प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि, प्रतिवेदनले वृद्ध नागरिकलाई लक्षित वस्तु तथा सेवाको बजार विस्तार हुँदै गएको ‘सिल्भर इकोनोमी’लाई सम्भावित अवसरका रूपमा पनि औँल्याएको छ ।
इयू आयुक्त डुब्राभ्का सुइकाले युरोपेली पहिलेभन्दा लामो र स्वस्थ जीवन बाँचिरहेको उल्लेख गर्दै जनसाङ्ख्यिक परिवर्तनले समाज, अर्थतन्त्र र श्रम बजारलाई पुनः आकार दिइरहेको बताउनुभयो । उहाँले यस परिवर्तनलाई अवसरमा रूपान्तरण गर्न समयमै आवश्यक नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिवेदनले घट्दो श्रमशक्तिको प्रभाव न्यूनीकरण गर्न उत्पादकत्व वृद्धि, बेरोजगारी न्यूनीकरण तथा श्रम बजारमा सहभागिता बढाउनुपर्ने सुझाव दिएको छ ।
हाल युरोपमा काम गर्न सक्ने उमेरका करिब २० प्रतिशत व्यक्ति श्रमशक्तिभन्दा बाहिर रहेका छन् भने करिब ८० लाख युवा रोजगारी, शिक्षा वा तालिममध्ये कुनैमा पनि सङ्गलग्न छैनन् ।
प्रतिवेदनका अनुसार बसाइँसराइले जनसाङ्ख्यिक परिवर्तनका केही असर कम गर्न सहयोग पु¥याए पनि वृद्ध जनसङ्ख्याबाट उत्पन्न हुने दीर्घकालीन चुनौती समाधान गर्न मात्र त्यसले पर्याप्त भूमिका खेल्न सक्ने छैन ।