बैङ्कक, ३० असार : थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा ३० जनाको मृत्यु भएको घटनापछि उक्त स्थलमा आधारभूत सुरक्षा प्रणालीको अभाव रहेको एक स्वतन्त्र विज्ञले बताउनुभएको छ ।
भवन निरीक्षक सङ्घका पूर्वअध्यक्ष वासावत कित्सिरितीराफाकले आइतबार भएको आगलागीपछि फरेन्सिक प्रहरीसँग मिलेर ‘रोङ बियर ना लात फ्राओ’ रेस्टुरेन्ट तथा बारको निरीक्षण गर्नुभएको थियो । निरीक्षणपछि उहाँले सो स्थलमा ठूलो भीड र प्रत्यक्ष साङ्गीतिक कार्यक्रम सञ्चालन भए पनि आवश्यक सुरक्षा व्यवस्था नरहेको बताउनुभयो ।
“आगोबाट बच्ने आपतकालीन निकास मार्ग, चेतावनी प्रणाली र आपतकालीन तयारीजस्ता उपायले सम्भावित जनधनको क्षति कम गर्न सक्थ्यो,” उहाँले एएफपीसँग भन्नुभयो ।
प्रारम्भिक निरीक्षणका क्रममा आपतकालीन निकास सङ्केत, आपतकालीन बत्ती तथा फायर अलार्म उपकरण नदेखिएको उहाँले बताउनुभयो । यद्यपि घटनाको विस्तृत मूल्याङ्कनका लागि सम्बन्धित निकायको थप अनुसन्धान आवश्यक रहेको उहाँको भनाइ छ ।
थाइल्यान्डमा विशेषगरी बार र नाइटक्लबजस्ता मनोरञ्जनस्थलमा सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयनबारे लामो समयदेखि प्रश्न उठ्दै आएको छ ।
सन् २००९ मा बैङ्ककस्थित ‘सान्तिका’ क्लबमा नयाँ वर्षको कार्यक्रमका क्रममा भएको आगलागीमा ६७ जनाको मृत्यु भएको थियो भने २०० भन्दाबढी घाइते भएका थिए । त्यस्तै, सन् २०२२ मा पूर्वी चोनबुरी प्रान्तको ‘माउन्टेन बी’ नाइटक्लबमा भएको आगलागीमा २५ जनाको मृत्यु भएको थियो ।
“यस्ता घटना पटक–पटक भइरहेका छन् । सान्तिकादेखि अहिलेको घटनासम्म आइपुग्दा यो ठूलो क्षति हो,” आइतबारको आगलागीमा भतिजी गुमाएकी जितिया फाइक्लाउले बताउनुभयो ।
मनोरञ्जनस्थलको रूपमा सञ्चालन, तर रेस्टुरेन्टको अनुमति:
वासावतका अनुसार ‘रोङ बियर ना लात फ्राओ’सँग रेस्टुरेन्ट सञ्चालनको अनुमति भए पनि यसको गतिविधि भने मनोरञ्जन स्थलजस्तो रहेको थियो ।
उहाँले बैङ्ककका अन्य धेरै बार तथा नाइटक्लबमा पनि यस्तै अवस्था देखिने बताउँदै मनोरञ्जनस्थल सञ्चालनका लागि तोकिएका क्षेत्र सीमित रहेको उल्लेख गर्नुभयो ।
गृह मन्त्रालयका अधिकारी आन्सित सम्फान्तारातले उक्त स्थान रेस्टुरेन्टका रूपमा दर्ता भए पनि त्यहाँ प्रत्यक्ष सङ्गीत, मदिरा बिक्री र नाचगानजस्ता मनोरञ्जनात्मक गतिविधि सञ्चालन भइरहेको पाइएको बताउनुभयो ।
“कुनै स्थानमा यस्ता गतिविधि सञ्चालन भइरहेका छन् तर त्यसलाई मनोरञ्जनस्थलका रूपमा दर्ता गरिएको छैन भने त्यो नियम उल्लङ्घन हो,” उहाँले भन्नुभयो ।
बैङ्ककका गभर्नर चाडचार्ट सिट्टीपुन्टले यस्ता प्रतिष्ठानको अनुगमन बढाउने र सुरक्षा मापदण्डको कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
उहाँले भवनको वर्गीकरण, क्षेत्र निर्धारण (जोनिङ) तथा विभिन्न प्रतिष्ठानको कानुनी परिभाषामा सुधार आवश्यक रहेको बताउनुभयो ।
वासावतले भविष्यमा यस्ता घटना दोहोरिन नदिन देशव्यापी रूपमा भवन सुरक्षा तथा निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।