असार ३०, २०८३ मंगलबार

अम्मान, ३० असार : जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका चारवटा क्षेप्यास्त्रलाई निस्तेज पारेको जोर्डन सशस्त्र बलले जनाएको छ ।

    जोर्डन सशस्त्र बल (जेएएफ)अरब सेनाले जारी गरेको विज्ञप्तिअनुसार, मुलुकको सार्वभौमसत्ता, सुरक्षा र नागरिकको संरक्षणका लागि सञ्चालन गरिएको उक्त कारबाही प्रभावकारी रूपमा सम्पन्न भएको थियो । घटनामा कुनै मानवीय वा भौतिक क्षति नभएको सेनाले जनाएको छ ।

    विज्ञप्तिमा उल्लेख भएअनुसार, रोयल इन्जिनियरिङ कोप्र्सका टोलीले विभिन्न स्थानमा खसेका क्षेप्यास्त्रका अवशेषलाई निर्धारित प्राविधिक तथा सुरक्षा प्रक्रियाअनुसार व्यवस्थापन गरेका छन् । साथै, प्रभावित क्षेत्रलाई सुरक्षित राख्न र नागरिक तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न आवश्यक उपाय अपनाइएको जनाइएको छ ।

    जोर्डन सशस्त्र बलले पछिल्ला घटनाक्रमको निरन्तर निगरानी भइरहेको र मुलुकको सुरक्षा वा हवाई क्षेत्रमाथि देखापर्ने कुनै पनि खतराको सामना गर्न उच्च सतर्कता अपनाइएको जनाएको छ ।

    सेनाले जोर्डनको सार्वभौमसत्ता वा हवाई क्षेत्र उल्लङ्घन गर्ने कुनै पनि प्रयासको दृढतापूर्वक प्रतिकार गरिने बताउँदै राष्ट्रिय सुरक्षा र स्थिरता कायम राख्न आवश्यक सबै कदम चालिने स्पष्ट पारेको छ ।