काठमाडौँ, ३१ असारः राष्ट्रिय सभाका सांसदहरुले कृषि, स्वास्थ्य बीमा र खानेपानी समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।
आजको बैठकको विशेष समयमा सांसदहरूले प्रेस स्वतन्त्रताको संरक्षण, किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य बीमा तथा तराईको खानेपानी समस्यालगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
बैठकमा बोल्दै सांसद झक्कुप्रसाद सुवेदीले प्रेसलाई सम्मान गरे मात्रै लोकतन्त्र सुदृढ हुने बताउँदै प्रेसमाथिको कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने धारणा राख्नुभयो । उहाँले मुगुका गणेश नेपालीलाई न्याय दिलाउन सरकारसँग माग गर्नुभयो। पछिल्लो समय निराशाका कारण आत्महत्याका घटना बढ्दै गएको उल्लेख गर्दै त्यसतर्फ गम्भीर हुन सरकारलाई आग्रह गर्नुभयो ।
सांसद रोश्नी मेचेले विगत ३५ वर्षमा मुलुकमा केही पनि नभएको भन्ने भाष्य गलत रहेको बताउँदै यथार्थविपरीतका धारणा फैलाउन नहुने बताउनुभयो । उहाँले युवा तथा रोजगारी क्षेत्रमा पर्याप्त बजेट विनियोजन नभएको बताउनुभयो । सरकार जनताप्रति अझ उत्तरदायी बन्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
सांसद मेचेले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन, कृषि क्षेत्रमा लगानी वृद्धि गर्न तथा किसानको सम्मान हुने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो । मल आपूर्तिको समस्या तत्काल समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद महन्थ ठाकुरले तराईमा खानेपानीको अभाव अझै पनि गम्भीर रहेको उल्लेख गर्दै सरकारले विगतमा गरेका प्रतिबद्धता कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो ।
सांसद विष्णुकुमारी सापकोटाले स्वास्थ्य बीमाको पहुँच नहुँदा धेरै नागरिकले नियमित औषधि सेवन र स्वास्थ्य परीक्षण गराउन नसकिरहेको बताउन्ुभयो । स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी र सर्वसुलभ बनाउन उहाँले सरकारसँग माग गर्नुभयो ।