असार ३१, २०८३ बुधबार

काठमाडौँ, ३१ असारः प्रतिनिधिसभाको आजको बैठकले अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं.८१) सर्वसम्मतबाट अनुमोदन भएको छ ।

    बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो महासन्धिको ८१ नं बुँदा अनुमोदनका लागि प्रस्ताव  गर्नुभएको थियो । 

    त्यसअघि उक्त महासन्धिको उक्त बुँदामाथि भएको छलफलमा क्रान्तिशिखा धिताल, गुरुप्रसाद बराल, रमेशकुमार मल्ल, कृष्णहरि बुढाथोकी, कमल सुवेदी, पारसमणि गेलाल, प्रभा कार्की, प्रमिला कुलुजु, गणेशबहादुर विश्वकर्मा, मनिष खनाल, हरिमोहन भण्डारी र राजन गौतमले भाग लिनुभएको थियो । 

    उहाँहरुले स्वायत्त र सक्षम जनशक्तिको विकास गरेर प्रतिस्पर्धी र पारदर्शिता अपनाउन आग्रह गर्नुभयो । साथै श्रेणीविहीन कर्मचारीको सेवा सुविधा बढाउनुपर्नेमा सरकारले अस्थायी र करार कर्मचारीलाई हटाउन खोजेकामा चिन्ता व्यक्त गर्नुभयो । 

    छलफलमा उठेका प्रश्नको जावफ दिँदै मन्त्री यादवले सो महासन्धिको नं ८१ को अनुमोदनले श्रम निरीक्षण प्रणाली र श्रमिकको अधिकार संरक्षणलाई सुदृढ बनाउने बताउनुभयो । “अनुमोदनपछि यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिनेछ”, उहाँले भन्नुभयो ।