असार ३२, २०८३ बिहिबार

रसुवा, ३२ असारः कृषि उत्पादन वृद्धि गर्दै जिल्लालाई अर्गानिक कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ डिभिजन सिँचाइ कार्यालयले चालु आर्थिक वर्षमा १६ सिँचाइ कुलोको मर्मत तथा स्तरोन्नति गरेको छ । यसबाट छ हजार ७०० भन्दा बढी किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
             
डिभिजन सिँचाइ कार्यालयका प्रमुख सुवास बानियाँका अनुसार कार्यालयले एक बहुवर्षीय र २० वटा क्रमागत गरी २१ सिँचाइ आयोजना निर्माण तथा स्तरोन्नतिको काम पनि अघि बढाइरहेको छ । किसानको आवश्यकता र स्थानीय मागलाई प्राथमिकतामा राखेर सिँचाइ पूर्वाधार विस्तारलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।

कार्यालयका अनुसार जिल्लामा सिँचाइयोग्य चार हजार ७३८ दशमलव ४० हेक्टर जमिनमध्ये हालसम्म तीन हजार ५८१ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भइसकेको छ । यसबाट एक हजार ६६५ घरधुरीका छ हजार ७०२ किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।

     सिँचाइ व्यवस्थापनसँगै बाढी तथा भूक्षय नियन्त्रणलाई पनि प्राथमिकता दिँदै चालु आर्थिक वर्षमा एक हजार १५३ थान ग्याबिन जाली वितरण गरिएको छ । सम्भावित विपद् व्यवस्थापनका लागि आवश्यक स्थानमा थप ग्याबिन जाली मौज्दात राखिएको पनि कार्यालयले जनाएको छ ।
                
     किसान तारा पौडेलले नयाँ सिँचाइ कुलोले धान रोपाइँ सहज बनेको बताउनुभयो । 
चालु आर्थिक वर्षमा नौकुण्ड गाउँपालिकाको थाङसाप, गुइसा, उत्तरगयाको भाँगेखोला, सिधुरेढुङ्गा, साधीखोला तथा कालिका गाउँपालिकाको डिखेत र भदौरे सिँचाइ योजनाको निर्माण सम्पन्न भएसँगै थप १५ दशमलव आठ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

उत्तरी रसुवाका थाम्बुचेत, गोल्जुङ, चिलिमेको तटिए क्षेत्रमा छोमरुङ तथा दक्षिणी रसुवाका फाँटमा विविध जातका धान, हिउँदमा तरकारी, तोरी गहुँ र अन्य नगदे बाली उत्पादनमा सिँचाइ योजनाले उल्लेखनीय योगदान पु–याएको जनाइएको छ ।

सरकारीस्तरबाट योजनाबद्ध सिँचाइ विकासको सुरुआत विसं २०१० को दशकदेखि भएको मानिन्छ । त्यसपछि सरकारले विभिन्न जिल्लामा नहर, कुलो र लिफ्ट सिँचाइ आयोजना विस्तार गर्दै आएको छ । पछिल्ला दशकहरूमा कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुनिश्चितता र किसानको आय वृद्धि गर्ने उद्देश्यले सिँचाइ पूर्वाधारलाई कृषि विकासको प्रमुख आधारका रूपमा अघि बढाउँदै आएको कार्यालयले जनाएको छ ।

जिल्लामा पानीको स्रोत व्यवस्थापन गरी खेतसम्म सिँचाइ सुविधा पु–याउनु किसानका लागि ठूलो उपलब्धि मानिएको छ । सिँचाइ विस्तारले खेतीयोग्य जमिन बाँझो रहने समस्या घट्नुका साथै वर्षभरि तरकारी, फलफूल र अन्नबाली उत्पादन गर्न सहज भएको छ । सरकारी निकायले थालेका यस्ता कार्यक्रमले कृषि पेशाप्रति युवाको आकर्षण बढ्ने र जिल्लालाई कृषि उत्पादनमा अझ आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएकोे छ ।