असार ३२, २०८३ बिहिबार

भजनी (कैलाली), ३२ असार  :  यहाँ असोज १९ देखि २६ गतेसम्म ‘टीकापुर गोल्ड कप– २०८३’ आयोजना हुने भएपछि टीकापुरवासी खुसी भएका छन् । 
 
     टीकापुर उद्योग वाणिज्य सङ्घले टीकापुरलाई खेलकुदको माध्यमबाट अन्तररास्ट्रियस्तरमा चिनाउन उद्देश्यले गोल्ड कप आयोजना गर्ने भएपछि यहाँका स्थानीयवासी खुसी भएका हुन् । 

    सङ्घका अध्यक्ष सन्तोष खड्काले गोल्डकप हुने भएपछि यहाँ आउने राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीको आगमनसँगै स्थानीय क्षेत्रमा चहलपहल बढ्ने भएका कारण सर्वसाधारण खुसी हुने बताउनुहुन्छ । 
    
    अध्यक्ष खड्काले प्रतियोगितालाई सफल बनाउन राजनीतिक दल, सामाजिक सङ्घसंस्था, उद्योगी, व्यवसायी, खेलप्रेमी तथा सर्वसाधरणलाई अनुरोध गर्नुभएको छ ।
  
    खड्ग स्मृति रङ्शाला, टीकापुरमा खेल खेलाइने नगर खेलकुद विकास समितिले बताएको छ । खेल सञ्चालनका लागि खड्ग स्मृतिको स्वामित्वमा रहेको २२ बिघा मैदान प्रयोग गरिने भएको छ । मैदानलाई खड्ग स्मृति रङ्गशालाको नाम दिइएको छ । 

    प्रतियोगितामा स्वदेश तथा देश बाहिरका विभिन्न फुटबल समूहको सहभागिता रहने छ । देश बाहिरका समूहका लागि  अखिल नेपाल फुटबल सङ्घसँग समन्वय र सहकार्य भइरहेको सङ्घले जनाएको छ ।  

    प्रतियोगिता सञ्चालनका लागि रु एक करोड खर्च हुने अनुमान गरिएको छ । टीकापुर नगरपालिकाले रु सात लाख बजेट विनियोजन गरेको छ । स्थानीय तह, प्रदेश सरकार तथा निजी व्यापारी तथा व्यवसायीसँग सहयोगको अपिल गरिएको छ ।