असार ३२, २०८३ बिहिबार

लन्डन, ३२ असार : प्रधानमन्त्री पद छाड्नुअघि अन्तिम विदेश भ्रमणका रूपमा बेलायती प्रधानमन्त्री किर स्टारमर बिहीबार युक्रेन पुग्नुभएको छ । राजधानी किएभमा उहाँले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेटवार्ता गरी युक्रेनप्रति बेलायतको समर्थन आगामी सरकारका पालामा पनि निरन्तर रहने सन्देश दिनुहुने अपेक्षा गरिएको छ ।

    बेलायती सरकारका अनुसार सोमबार प्रधानमन्त्री पदबाट बाहिरिनुअघि स्टारमरले युक्रेनसँगको सुरक्षा, सहयोग र दीर्घकालीन साझेदारीबारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्नुहुनेछ । उहाँले बेलायतको नेतृत्व परिवर्तन भए पनि युक्रेनप्रतिको प्रतिबद्धतामा कुनै कमी नआउने विश्वास दिलाउनुहुनेछ ।

    स्टारमरले आफ्नो कार्यालयमार्फत जारी सन्देशमा युक्रेनप्रति बेलायतको समर्थन अटल रहने बताउनुभएको छ । उहाँको स्थानमा एन्डी बर्नह्यामले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहनुभएको छ । बर्नह्याम शुक्रबार सत्तारूढ लेबर पार्टीको नेता निर्वाचित भएपछि राजा चार्ल्स तृतीयसँग भेट गरी सोमबार औपचारिक रूपमा प्रधानमन्त्री बन्नुहुनेछ ।

    फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता बर्नह्याम बेलायतका पाँचौँ प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।

    घरेलु नीतिमा पटक–पटक निर्णय परिवर्तन गरेपछि आफ्नै दलका सांसदहरूको समर्थन कमजोर बन्दै गएपछि स्टारमरले गत जुन २२ मा राजीनामाको घोषणा गर्नुभएको थियो । यद्यपि, युक्रेनप्रतिको उहाँको अडान र नाटोप्रतिको प्रतिबद्धताका कारण अन्तर्राष्ट्रिय स्तरमा उहाँले उल्लेखनीय समर्थन प्राप्त गर्नुभएको थियो ।

    स्टारमरले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग मिलेर सम्भावित शान्ति सम्झौतापछि युक्रेनको सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय शान्ति सेना गठन गर्ने प्रयासको नेतृत्व गर्दै आउनुभएको थियो ।

    यसैबीच, बेलायतले सोमबार युक्रेनका लागि युरोपेली सङ्घ (इयु) ले घोषणा गरेको ९० अर्ब युरो (१०३ अर्ब अमेरिकी डलर) बराबरको सहायता ऋण कार्यक्रममा पनि सहभागिता जनाएको छ ।