इस्लामाबाद, ३२ असार : अमेरिका र इरानबीच फेरि सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारीपत्र (एमओयु) अनुसार वार्ता पुनः सुरु गर्न आग्रह गरेको छ । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले संवाद नै सङ्कट समाधानको प्रभावकारी माध्यम भएको जनाएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले बिहीबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा समझदारीपत्रको कार्यान्वयन चुनौतीपूर्ण बने पनि सबै पक्षलाई हिंसा रोक्न र प्राविधिक तहको वार्ता पुनः सुरु गर्न प्रोत्साहित गरिने बताउनुभयो ।
उहाँले हर्मुज जलघाँटीको अवस्था छिट्टै सामान्य हुने आशा व्यक्त गर्दै समुद्री सुरक्षाका साथै अन्तर्राष्ट्रिय जहाज आवागमनको स्वतन्त्रता सुनिश्चित गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो ।
यसै साता अमेरिकाले इरानमाथि नयाँ आक्रमण सुरु गरेपछि इरानले पनि खाडी क्षेत्रमा रहेका अमेरिकी हितलाई लक्षित गर्दै जवाफी कारबाही गरिरहेको छ । दुवै पक्षबीचको सङ्घर्ष हर्मुज जलघाँटी केन्द्रित बनेको छ र यसले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पारेको छ ।
तेल तथा ग्यास ओसारपसारको प्रमुख मार्ग मानिने हर्मुज जलघाँटीमा जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । यसले द्वन्द्वमा प्रत्यक्ष संलग्न नभएका मुलुकहरूमा समेत मुद्रास्फीति बढ्ने चिन्ता उत्पन्न गरेको छ ।
गत जुनमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच प्रारम्भिक समझदारी भएको भए पनि पछिल्लो हिंसापछि त्यसको कार्यान्वयन प्रभावित भएको छ । अन्द्राबीले हालको अवस्थाले विश्वव्यापी ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार तथा खाद्य सुरक्षामा पार्ने प्रभावलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता रहेकोमा पनि जोड दिनुभयो ।
–––