साउन १, २०८३ शुक्रबार

पर्वत, १ साउन :  सँगै ज्यूँने मनसायबाट यहाँका जोइपोइले भैँसीको दूध बिक्री गरेर आम्दानी गर्न थालेपछि न्यौपाने दम्पत्ति गाउँका नमूना कृषक सावित भएका छन् । 
    
    मनग्गे धन कमाउने सपना बोकेर झण्डै १० वर्षअघि मलेसिया पुगेका दक्षिण पर्वतका पैंयूँ गाउँपालिका–४ हुवासका सूर्य न्यौपाने दुई वर्षमै स्वदेश फर्किनुभयो । सोचेजस्तो आम्दानी नभएपछि गाउँमा पशुपालन गर्ने सोच  पलायो । यता श्रीमती गीता न्यौपानेले गाउँको गरिमा विकासको जागिरे छोडी मिलेर भैँसीपालन व्यावसाय थाल्नुभयो । 
सुरुवातमा सात वटा स्थानीय जातका भँैसीबाट सुरु भएको उहाँको न्यौपाने भैँसी फार्म फैलिँदै ग¥यो । विगत आठ वर्षदेखि सुरु गरेको फार्ममा अहिले स्थानीय र उन्नत जातका गरी २७ वटा पुगेका छन् । तीमध्ये अहिले २३ वटा दुहुना भैँसी छन् । 

    आठ वर्षअघि सुरु गरेको भैँसी फर्मबाट न्यौपाने दम्पत्तिले दैनिक १०० लिटर दूध बिक्री गर्नुहुन्छ ।  बिहानदेखि राति अबेरसम्मै उहाँहरुको दैनिकी गोठमा बित्ने गर्छ । बैंकमा अरुका पैसा गनेर दिन कटाउने गीता  अहिले मेहिनतको पैसा गन्न पाउँदा दङ्ग हुनुहुन्छ । 

    रु एक करोडको लगानीबाट सुरु भएको दम्पत्तिको भैँसीपालनबाट मासिक रु एक लाख नाफा हुने गरेको छ ।  गरिमा विकास बैंकको जागरी छाडेर पशुपालनमा लाग्दा पछुताउनुभएकी गीता उचित समयमा राम्रो निर्णय लिएकोमा खुसी हुनुहुन्छ । 

भैँसीपालन व्यवसायसँगै उहाँहरुको कुटानी पिसानी मिलसमेत छ । बाँकी रहेको दूधको मोही, दही, घ्यूउ, पनिर बिक्री गर्नुहुन्छ । मलेसियाको बसाइँ त्यागेर गाउँ फर्किएका सूर्य न्यौपानेले भैँसीपालनबाट सन्तोषजनक आम्दानी भएकोमा खुसी हुनुहुन्छ । भैँसीका लागि १०० रोपनीमा घाँसखेती गर्नुभएको छ । न्यौपाने दम्पत्ति मात्र हैन, उहाँको व्यवसायमा गाउँका अन्य चार जनाले रोजगारीसमेत पाउनुभएको छ ।  

फार्ममा उत्पादित दूध स्थानीय हुवास, हातेमालोचोक, त्रिवेणीमा प्रतिलिटर रु १०० मा बिक्री गर्नुहुन्छ । परिवारसँगै रमाउँदै गाउँमै भैँसीपालन गरेर आम्दानी गर्नुको बेग्लै मज्जा छ, दुवै जनाले बताउनुभयो । व्यवसाय प्रवर्द्धनका लागि स्थानीय पैँयू गाउँपालिका, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइलगायत उहाँलाई अनुदानका साथै प्राविधिक सहयोग प्रदान गरेका छन् ।  


राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय बागलुङका प्रमुख अर्जुनप्रकाश सुवेदीले कृषि तथा पशुपंक्षी उद्यमशिलता विकास कार्यक्रमअन्तर्गत भैँसी फर्मलाई गोठ बनाउन अनुदान उपलब्ध गराएको बताउनुभयो । फार्म सञ्चालकको रु चार लाख र कार्यालयको रु चार लाख अनुदान गरी साझेदारी अनुदान दिएको बताउनुभयो ।  

गाउँमा खेतबारी बाँझै छाडी विदेशमा भौतारिनेलाई न्यौपाने दम्पत्तिको रचनात्मक कामले विदेश जान गरिने लगानीले गाउँमै गर्न सके सोचेभन्दा बढी आम्दानी र सन्तुष्टि मिल्छ भन्ने उदाहरण पेस गरेका छन् ।