गण्डकी, २ साउनः राष्ट्रिय समाचार समितिका पत्रकार वासुदेव पौडेल ‘गाउँ पर्यटन पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनुभएको छ ।
आज कास्कीको पर्यटकीय क्षेत्र अस्थाममा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले उहाँलाई रु ११ हजार १११ सहित उक्त पुरस्कार प्रदान गर्नुभयो ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) ले उक्त पुरस्कार स्थापना गरेको हो । त्यस अवसरमा मन्त्री गुरुङले गाउँ पर्यटनको विकासबाट नै मुलुक आर्थिक समृद्धिको मार्गमा अग्रसर हुने बताउँदै पर्यटन क्षेत्रको विकासमा सम्बद्ध सबैले सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष एवं मञ्चका संस्थापक अध्यक्ष तारानाथ पहारीले पर्यटन विकासका लागि गाउँलाई सहर र सहरलाई गाउँसँग जोड्नुपर्छ भन्नुभयो ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, भिटोफका अध्यक्ष शोभा सापकोटा, गाउँ पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष हरिशरण थपलिया, माछापुच्छ्र्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी, पर्यटन व्ययसायी गणेशबहादुर भट्टराई, नेपाल पत्रकार महासङ्घ र गण्डकी प्रदेश समितिका अध्यक्ष रमेश पौडेललगायत वक्ताले गाउँ पर्यटन विकासका सम्भावना र अवसरबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।