काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक अवस्थालाई सामना गर्न वामपन्थी शक्तिहरूबीच तत्काल सहकार्य आवश्यक रहेको बताएका छन्।
पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले प्रतिक्रान्तिको प्रक्रिया अझै पूरा नभएको दाबी गर्दै त्यसलाई परास्त गर्न वामपन्थी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका हुन्।
उनले राजनीतिक परिवर्तनको रक्षा गर्न संसद्, निर्वाचन र सडक तीनै तहबाट संघर्ष गर्नुपर्ने बताए। अहिलेको परिस्थितिमा एकै दिनमा राजनीतिक अवस्था परिवर्तन गर्न सकिने उदाहरण वर्तमान घटनाक्रमले देखाएको उनको भनाइ थियो।
“सदनमा लड्ने, आउने निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने। हामी आफ्नै तरिकाले लड्ने हो, तर एकै दिनमा उल्ट्याउन सकिँदो रहेछ भनेर त उनीहरूले नै सिकाएका छन्,” प्रचण्डले भने।
उनले वामपन्थी दलहरूले साझा न्यूनतम कार्यक्रम बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। प्रत्येक दलले आफ्नो शक्ति र क्षमताअनुसार जनपरिचालन गर्न सके राजनीतिक प्रभाव सिर्जना गर्न सकिने उनको भनाइ थियो।
प्रचण्डले राजधानी काठमाडौं तथा देशभरका जिल्ला सदरमुकाममा ठूलो जनसमर्थनसहित कार्यक्रम गर्न सके परिवर्तनकारी शक्तिहरूले आफ्नो प्रभाव देखाउन सक्ने बताए।
“हरेक पार्टीले आफ्नो क्षमताअनुसार काठमाडौंमा लाखौं जनता र जिल्ला सदरमुकाममा ठूलो संख्या उतारेर अघि बढ्यौं भने परिवर्तन सम्भव छैन र?” उनले प्रश्न गरे।
उनले अहिलेको समयलाई निर्णायक अवसरका रूपमा लिनुपर्ने भन्दै वामपन्थी शक्तिहरूले ठूला भाषणभन्दा व्यवहारिक कदम चाल्नुपर्ने बताए।
“ठूला–ठूला गफ छाडिदिऔं। अब एक्सनमा जाऔं, त्यो सम्भव छ। सम्भव बनाउनै पर्नेछ,” प्रचण्डले भने।
सरकार परिवर्तनको खेलप्रति सचेत रहन आग्रह
प्रचण्डले केवल सरकार बनाउने र गिराउने परम्परागत राजनीतिक खेलमा मात्रै केन्द्रित भए फेरि अर्को संकट आउन सक्ने चेतावनी दिए।
उनले सरकार परिवर्तनको सामान्य चक्रमा मात्रै अल्झिँदा राजनीतिक उपलब्धि कमजोर हुन सक्ने भन्दै दीर्घकालीन सोचसहित अघि बढ्नुपर्ने बताए।
“फेरि सरकार गिराउने र बनाउने खेलमा लाग्यौं भने अर्को प्रतिक्रान्तिमा उठ्नै नसक्ने गरी थेचारिन सक्छौं,” उनले भने।
तत्काल पार्टी एकता होइन, कार्यगत एकता आवश्यक
नेकपा संयोजक प्रचण्डले तत्काल सबै वामपन्थी दल एउटै पार्टी बन्ने सम्भावना नरहेको पनि स्पष्ट पारे। उनले पार्टी एकताको विषयमा हतार गर्दा आन्तरिक विवाद बढ्न सक्ने भन्दै अहिलेको आवश्यकता सहकार्य र कार्यगत एकता भएको बताए।
“पार्टी एउटै बनाउँछौं भन्यो भने फेरि झगडा सुरु हुन सक्छ। तर सहकार्य र कार्यगत एकता तत्काल आवश्यक छ,” उनले भने।
उनले इमानदार सहकार्यको वातावरण बने भविष्यमा पार्टी एकताको आधारसमेत तयार हुन सक्ने धारणा राखे।
प्रचण्डले वामपन्थी शक्तिहरूबीच साझा उद्देश्य, स्पष्ट कार्यक्रम र प्रभावकारी संगठन निर्माण अहिलेको मुख्य आवश्यकता भएको बताए। उनका अनुसार राजनीतिक परिवर्तनका उपलब्धि जोगाउन सबै पक्ष गम्भीर भएर अघि बढ्नुपर्ने समय आएको छ।