गोपालप्रसाद बराल
महोत्तरी, १२ भदौः दाजुभाइ दिदीबहिनीबीचको प्रेम, सद्भाव र समर्पणको पर्व ‘राखी’ आज बिहानैदेखि महोत्तरीसहित् प्राचीन मिथिला क्षेत्रमा चहलपहल बढेको छ । मिथिलानी (मिथिलाका नारी) दाजुभाइलाई लगाउने कार्यमा बिहानैदेखि व्यस्त छन् । जताततै राखी गीत गुञ्जिरहेका छन् ।
‘आयल राखीक त्यौहार,
भाइ हमर लाओत् बहार ।
बधबै भाइके प्रेमक डोरा स,
होतै सुखक इजहार ।’
(राखी पर्व आयो, मेरा भाइले खुसी ल्याउने छन्, म भाइलाई प्रेमको धागोले बाँध्नेछु, अनि खुसियालीको माहोल बन्नेछ)
यसैगरी, कामविशेषले टाढा रहेका दाजुभाइलाई राखी सम्झाउँदै आउन नबिर्सन मिथिलानीको अपिल पनि गीतमा व्यक्त हुन्छ ।
‘आयल साउनक सुदिन यौ भैया,
राखीमे जरुर अबै यौ
राखीक पावैन अलै यौ भैया,
कोनाक अहाँ बिसैर गेली यौ ।’
(साउनको सबैभन्दा राम्रो दिन आउँदैछ दाजु । राखी पर्वमा अवश्य आउनुहोला । पर्व आइसक्यो, तपाईँले कसरी बिर्सिरहनु भएको छ) ।
राखी पर्वको मुख्य आकर्षण नै दाजुभाइ दिदीबहिनीबीच प्रगाढ प्रेम दर्शाउने भावका गीत हुन् । पर्व नजिकिएसँगै मिथिलानीले दाजुभाइलाई सम्झेका र त्यसको तयारीमा लागेका भावका गीत पनि बज्छन् । यस्ता गीत गुञ्जन थालेपछि राखी आउन लागेछ भन्ने जोसुकैले लख काट्छन् । गीतमा दिदीबहिनीको स्वरमा दाजुभाइको सौर्य बखान गरिएको हुन्छ । यी गीतले जोसुकैलाई दिदीबहिनीप्रति प्रेम र समर्पणको भाव जगाउने मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण कर्ण बताउनुहुन्छ ।
साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइका हातमा बाँध्ने कलात्मक धागोको डोरा पर्वको मुख्य विधि हो । यसै डोरालाई मिथिलामा ‘राखी’ भनिन्छ । पर्वको मुख्यपक्ष नै राखी बाँधिनु हो । यसैले यो पर्वको नाउँ नै ‘राखी’ प्रचलनमा आएको मिथिला लोक परम्पराकी जानकार सञ्चारकर्मी खुश्वु झाको भनाइ छ ।
पर्व नजिकिँदै गर्दा मिथिला क्षेत्रका बस्तीबस्तीका हाटबजारमा रङ्गीबिरङ्गी राखी सजाएर बेच्न राखिएका हुन्छन् । मिथिलानीहरुको केही दिन पहिलेदेखि नै आफ्ना दाजुभाइका लागि कलात्मक राखी छानेर किन्ने गर्दछन् ।
पर्व नजिकिएसँगै मिथिलानी आफ्ना दाजुभाइको सोधखोज र खबर गर्न व्यस्त हुने गर्छन् । विवाहित मिथिलानी राखीका लागि दाजुभाइलाई घर आइदिन खबर गर्छन् । अविवाहित दिदीबहिनी आफ्ना दाजुभाइसँगै रहे पनि पर्वको निम्ता दिन भने चुक्दैनन् । “म त आफ्नै गाउँमा छु, जनकपुरमा रहेका भाइलाई राखी बाँध्न आउन फोनबाट निम्ता गरिसकेको छु, अहिले आउँदैछन्,” महोत्तरी गाउँपालिका–६ गोरिगमाकी १९ वर्षीया कीर्ति महतो भन्नुहुन्छ । कीर्ति जस्तै अहिले सबै दिदीबहिनीहरु आफ्ना दाजुभाइलाई खबर गरिरहेका छन् । विवाह भएर गएका चेलीहरुले मोबाइल फोन र सञ्चारका अन्य साधनबाट आफ्ना दाजुभाइलाई राखी बाँध्न आउने निम्ता दिएका छन् ।
“म त माइत जान भ्याइनँ, त्यसैले भाइलाई राखीका दिन आफ्नै घरमा डाकेकी छु” बर्दिबास–१२ बिजलपुरा माइत भएकी भङ्गाहा–४ रामनगरकी बासिन्दा आजादी महतो भन्नुहुन्छ, “भाइले आउँदैछन्, उसलाई राम्रो राखी छानेर बजारबाट ल्याइसकेको छु ।” पर्वमा दाजुभाइलाई राखी बाँधेपछि मिष्ठान्न परिकार खुवाउने चलन छ ।
पर्वमा दिदीबहिनीबाट निम्ता पाएपछि दाजुभाइहरु पनि बिहानैदेखि नजिक भए हिँडेरै र टाढा भए आफ्नो सवारी वा भाडाका गाडीमा हिँडेको देखिन्छ । कतिपय त हिजै दिदीबहिनीको घरमा पुगिसकेका छन् । पर्वका दिन दिदीबहिनीको निम्ता मान्न पुग्न दाजुभाइ केही दिन पहिलेदेखि नै आआफ्नो कामबाट फुर्सद मिलाउने गर्दछन् । “बहिनीको पटकपटक फोनपछि मलाई पनि कतिखेर बहिनीको घर पुगौँ भन्ने लागेको थियो,” भङ्गाहा–४ रामनगरका रामईश्वर ठाकुर भन्नुहुन्छ, “बहिनीका लागि नयाँ लुगा र दक्षिणा ठीक पारेको छु, पर्वको एक दिनअघि नै आइपुगेँ ।”
बर्दिबास–२ की सङ्गिता सहनी भन्नुहुन्छ, “पछिल्ला तीन÷चार दिनदेखि दिनहुँ दाजुलाई राखीमा आउन भनेकी थिएँ” धनुषाको नगराइन माइती भएकी सहनी भन्नुहुन्छ, “दाजु आज बिहान आइ पुगेपछि निकै खुसी छु ।” सहनीकी छिमेकी देउरानी पर्मिलाले पनि अहिले राखी पर्वले गर्दा दाजुभाइसँग भेट्ने हुटहुटी भएको बताउनुभयो ।
मैथिल यस पर्वलाई प्रेम र समर्पण भावसँग दाँज्छन् । दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी प्रगाढ सम्बन्धको अन्तर्निहित भाव यस पर्वको रहेको संस्कृतिविद् जलेश्वर–७ बखरीका बासिन्दा ८६ वर्षीय पूर्वप्रशासक महेश्वर राय बताउनुहुन्छ । “राखी मिथिलाको विशिष्ट पर्व हो, यस पर्वले दाजुभाइ र दिदीबहिनीबीच कुनै असमझदारी बनेका रहेछन् भने पनि बिर्सन लगाउँछ,” राय भन्नुहुन्छ, “सबै चाडपर्वका खास सन्देश हुन्छन्, राखीको सन्देश दाजुभाइ, दिदीबहिनीबीच सधँै सुमधुर सम्बन्धका लागि छ ।”
दाजुभाइ दिदीबहिनीबीच कुनै कुराले दूरी बढेको रहेछ भने यो पर्व दुबैथरिको पर्खाइमा हुने रायको अनुभव छ । “अब राखी पर्व आयो, दिदीबहिनीले सम्झन्छन् नै भन्ने दाजुभाइ ठान्छन्, यसैगरी सानोतिनो असमझदारी यही पर्वमा टुङ्ग्याइने दिदीबहिनीले मन बनाएका हुन्छन्,” राय भन्नुहुन्छ, “त्यसैले मिथिलामा यसलाई पारिवारिक सद्भावको मुख्य पर्व मानिएको छ ।”
यो पर्वमा फरक संस्कृति परम्परा र धार्मिक रिवाज भएका बीच पनि राखी बाँध्ने, बधाउने चलन बाक्लै छ । इस्लाम परम्पराका चेलीले हिन्दूलाई दाजुभाइ मानेर र हिन्दू चेलीले इस्लाम परम्परा मान्नेलाई राखी बाँध्न निम्ता नै दिएर बोलाउने क्रम बढ्दै गएको देखिन्छ । पछिल्ला दिनमा यो पर्वको समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीय पक्षको आकर्षणले महोत्तरी जिल्लाका इस्लाम धर्मावलम्बी युवाले हिन्दू महिलालाई दिदीबहिनी बनाएर र इस्लाम धर्मावलम्बी चेलीले हिन्दू युवालाई दाजुभाइ बनाएर राखी बाँध्ने व्यापक प्रचलन बढ्दै गएको सीतापुर बजारका अलजिरी वस्त्रालयका सञ्चालक मोहम्मद सहबुल अन्सारी बताउनुहुन्छ ।
यसले सामाजिक तथा धार्मिक सद्भावसँगै दुःखसुखमा साथ उभिने संस्कृति निर्माणमा सघाउ पु¥याउने विश्वास गरिन्छ् । “यो पर्वले समाजलाई जोड्छ, सबैसँग सम्बन्ध बनाउँछ” बर्दिबास–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लाका प्रधानाध्यापक सूर्यनारायण दास भन्नुहुन्छ, “त्यसैले मिथिलाको यो खास पर्व बनेको छ ।”
पर्वमा दिदीबहिनीबाट राखी बाँधेपछि दाजुभाइले वस्त्र आभूषण र नगद दक्षिणा दिने गर्छन् । दिदीबहिनीलाई यसअघिका दुःखसुख भुलाउँदै ‘म तिमीहरुसँगै छु’ भन्ने भावले सन्तुष्ट पार्नु दाजुभाइले आफ्नो कर्तव्य ठान्छन् । मिथिलामा दाजुभाइ÷दिदीबहिनीबीच आपसी प्रेम र समर्पणसँग जोडिएका अन्य पर्व पनि छन् । कात्तिक शुक्लपक्षको द्वितीया तिथिका दिन मनाइने भैयादूज र यसै पक्षको पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्व दिदीबहिनीले दाजुभाइप्रति समर्पण भाव जनाउने मिथिलाका मुख्य पर्वमा पर्छन् ।
पर्व विशेषमा राखीको कारोवार गर्ने व्यापारीको पनि व्यस्तता निकै बढेको छ । अहिले व्यापारी ग्राहकको नजरमा पर्ने आकर्षक राखीले पसल सजाइरहेका छन् । ग्राहकले कस्ता राखी मन पराउने हुन् ? भन्ने व्यापारीको हुटहुटी छ । “अहिले थरिथरिका राखीको माग छ, हामीलाई ती समान जुटाउन भ्याइनभ्याइ छ” बर्दिबासको भोलावसन्त चोकका पर्व विशेषका सामग्रीको पसल चलाउनुभएका श्यामकुमार महतोले असिनपसिनबीच नै भन्नुभयो ।
अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल) को अधिपति दानवराज वलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन बाँधिदिएको र युद्धमा वलिको जीत भएको सम्झनामा प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ ।
पर्व विशेषमा यसअघि केही मनोमालिन्य रहे पनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नाले चेली र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ट भूमिका हुने गरेको जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका ८३ वर्षीय कृष्णचन्द्र झा बताउनुहुन्छ । पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्व झनै उजेलिएको छ । पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा राखी राखेर हुलाक वा कुनै चिनजानको व्यक्तिमार्फत पठाउने चलन पनि बाक्लै देखिन्छ ।
पहाडी क्षेत्रमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण चाहिँ दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको छ । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पहाडी समुदाय मात्र नभई इस्लाम धर्मावलम्बीमा पनि बाक्लै प्रचलनमा आएको छ ।