भदौ १२, २०८३ शुक्रबार

ताप्लेजुङ, १२ भदौः अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ताप्लेजुङ-११ लाई २-१ गोलअन्तरले पराजित गर्दै भारतको जर्जियन युनाइटेड फुटबल क्लबले विजयी सुरुआत गरेको छ ।

    सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको खेलमा जर्जियन युनाइटेडका कप्तान गुञ्जमान थापाले लगातार दुई गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । उनले खेलको पहिलो र दोस्रो हाफमा एक-एक गोल गरेका हुन् ।

    आयोजक ताप्लेजुङ-११ का लागि दीपेश लिम्बूले एक गोल फर्काएका थिए । प्रतियोगिताअन्तर्गत शनिबार चित्लाङ फुटबल क्लब र फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । लाखेजात्रा सञ्चालन समितिले लाखेजात्रा पर्वको अवसर पारेर आयोजना गरेको प्रतियोगिता यही भदौ १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागी छन् ।

    आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार यस वर्षको प्रतियोगिताको उपाधि विजेताले रु सात लाख दुई हजार ८३ तथा उपविजेताले रु तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कार प्रदान गरिनेछ ।
---