भदौ १३, २०८३ शनिबार

नवलपुर (नवलपरासी), १३ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व)का दुई पालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २३ लाख सहयोग प्रदान गर्ने भएका छन् । 

    भोटेकोशी बाढीका कारण भएको मानवीय क्षति, निजी तथा सार्वजनिक भौतिक संरचनामा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति दुःख व्यक्त गर्दै जिल्लाका मध्यविन्दु नगरपालिका र देवचुली नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन् । 

    मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले पालिका र जनप्रतिनिधिको तर्फबाट रु १५ लाख सहयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । 

    नेपाल सरकारद्वारा सञ्चालित उद्धार, राहत तथा पुनःस्थापना अभियानप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको पीडामा साथ दिन मध्यविन्दु नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । 

    मध्यविन्दु नगर कार्यपालिकाको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगरपालिकाको तर्फबाट रु पाँच लाख, जनप्रतिनिधिको तर्फबाट रु चार लाख तथा कर्मचारीको तर्फबाट रु छ लाख गरी जम्मा रु १५ लाख सहयोग उपलब्ध गराउने निर्णय गरिएको अधिकारीले बताउनुभयो । 

    उहाँले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग, सहकार्य र सद्भाव प्रदर्शन गर्नसमेत सम्पूर्ण मध्यविन्दु नगरवासीमा अपिल पनि गर्नुभयो ।

    त्यसैगरी, देवचुली नगरपालिकाले रु आठ लाख सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । नगर कार्यपालिकाको निर्णयअनुसार नगरपालिकाको तर्फबाट रु चार लाख तथा जनप्रतिनिधि र कर्मचारीको तर्फबाट रु चार लाख गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु आठ लाख सहयोग गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । 

    यस दुःखद् क्षणमा प्रभावित परिवारलाई आवश्यक सहयोग र विपद् व्यवस्थापनका कार्यमा सहयोग, समन्वय र सहकार्य गरिदिनुहुन सम्पूर्ण देवचुली नगरवासीमा हार्दिक अपील गरिएको न्यौपानेको भनाइ छ ।