भदौ १३, २०८३ शनिबार

झापा, १३ भदौः रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको लागि झापाका चार वटा स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु ५३ लाख १९ हजार आर्थिक सहयोग प्रदान गर्नेभएका छन् ।

विपद्को यो घडीमा प्रभावित क्षेत्रका नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले कार्यपालिका, जनप्रतिनिधि, कर्मचारी तथा पालिकाको विपद् व्यवस्थापन कोषमार्फत रकम सङ्कलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । 

उद्धार, राहत तथा पुनःस्थापनाका लागि अर्जुनधारा नगरपालिकाले रु २१ लाख, बुद्धशान्ति गाउँपालिकाले रु १६ लाख १९ हजार, भद्रपुर नगरपालिकाले रु ११ लाख र विर्तामोड नगरपालिकाले रु पाँच लाख उद्धार कोषमा उपलब्ध गराउने भएका हुन् ।  

बुद्धशान्ति गाउँपालिकाका अनुसार कर्मचारी, जनप्रतिनिधिको योगदान तथा पालिकाको विपद् व्यवस्थापन कोषबाट यो रकम जुटाइएको पालिका प्रमुख मनोज प्रसाईंले जानकारी दिनुभयो । राष्ट्रिय विपद्का बेला देशका जुनसुकै भूभागका नागरिकलाई परेको दुःखमा मल्हम लगाउनु स्थानीय सरकारको दायित्व भएकाले उक्त सहयोग रकम प्रधानमन्त्री राहत कोषमार्फत पठाउन लागिएको विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतराले बताउनुभयो ।

जिल्लाका विभिन्न सङ्घसंस्था, नागरिक र महिला समूहले  राहत कोषमा सहयोग रकम जम्मा गरिरहेका छन् । जिन्सी सामाग्री भारतको दार्जिलिङ, सिक्किमलगायतका स्थानबाट दाताहरूलाई जिल्ला प्रशासन कार्यालयलाई बुझिदिएर सम्बन्धित स्थानसम्म पुर्याइदिन आग्रह गरिरहेका छन् ।