भदौ १३, २०८३ शनिबार

काठमाडौँ, १३ भदौः भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार रसुवा र नुवाकोटमा रहेका नौ वटा जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये ३६१ जनाको उद्धार भइसकेको छ । 

    दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट ५७६ जना सम्पर्कविहीन भएकामध्ये २५४ जनाको उद्धार भइसकेको छ । सोही आयोजनाको सुरुङमा अझै पनि ३०० जना श्रमिक तथा कर्मचारी फसेको बताइएको छ । अहिले सो सुरुङमार्गमा खोजी भइरहेको छ ।
 
    त्यसैगरी, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट पनि ९३ जना सम्पर्कविहीन भइरहेका छन् । रसुवा भोटेकोशी जलविद्युत् आयोजनाबाट चार जना सम्पर्कविहीन भएको इप्पानले जनाएको छ । लाङ्टाङ खोला जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १८ जनाको उद्धार भएको छ । 

    त्यसैगरी, चिलिमे हाइड्रोपावरबाट आठ जना सम्पर्कविहीन भइरहेका छन् । मैलुङ खोला हाइड्रोपावरबाट सात जना सम्पर्कविहीन भएका छन् । त्रिशूली जलविद्युत् आयोजनाबाट एक जना सम्पर्कविहीन भएका छन् । देवीघाट जलविद्युत् आयोजनाबाट एक जना सम्पर्कविहीन भइरहेका छन् । माथिल्लो त्रिशूली ‘थ्री’ ए जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएका छन् ।

    माथिल्लो त्रिशूली ‘थ्री’ बी जलविद्युत् आयोजनाबाट १२२ जना सम्पर्कविहीन भएकामध्ये ९१ जनाको जिवितै उद्धार गरिएको छ । मिडल त्रिशूली गङ्गा जलविद्युत् आयोजनाबाट दुई जना सम्पर्कविहीन भएका छन् ।