कोरोर, १५ भदौ: ताइवान–चीन तनावको पृष्ठभूमिमा प्रशान्त टापु मञ्चको वार्षिक शिखर सम्मेलन सुरु हुनुअघि कम्तीमा पाँच क्षेत्रीय नेता अनुपस्थित हुने भएका छन् । सम्मेलनमा जलवायु परिवर्तन, लागुऔषध अपराध, सुरक्षा तथा जुलाईमा प्रशान्त महासागरमा भएको चिनियाँ ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणलगायत विषयमा छलफल हुने भएको छ ।
अठार सदस्यीय प्यासिफिक आइल्यान्ड्स फोरमको यस वर्षको सम्मेलन ताइवानको कूटनीतिक साझेदार पलाउले आयोजना गरेको हो । चीनको बढ्दो सुरक्षा तथा आर्थिक प्रभावका विषयमा समेत सम्मेलनमा विशेष चर्चा हुने अपेक्षा गरिएको छ ।
चीनले सहायता साझेदारका रूपमा ताइवानलाई आमन्त्रण गरिएकोमा आपत्ति जनाएको छ । स्वशासित ताइवानलाई आफ्नो भूभागको हिस्सा दाबी गर्दै आएको चीनले पलाउलाई चिनियाँ पर्यटकका लागि ‘असुरक्षित’ गन्तव्यसमेत घोषणा गरेको छ ।
पलाउका राष्ट्रपति सुरान्जेल ह्विप्सले प्रशान्त क्षेत्रलाई भू–राजनीतिक प्रतिस्पर्धाको अखडा बनाउन नहुने बताउनुभएको छ । उहाँले नवीकरणीय ऊर्जा, लागुऔषध अपराध, खाद्य सुरक्षा र जलवायु परिवर्तनजस्ता प्रशान्त टापु राष्ट्रका प्राथमिकताका विषय ओझेलमा पर्न नहुनेमा जोड दिनुभएको छ ।
सम्मेलनमा अनुपस्थित हुने नेताहरूको स्थानमा केही देशले तल्लो तहका मन्त्रीलाई पठाउने भएका छन् । सामोआको प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्रीले गर्नुहुने भएको छ भने भानुअतुका प्रधानमन्त्री र फ्रान्सेली भूभाग न्यु क्यालेडोनियाका सरकार प्रमुख पनि अनुपस्थित हुने फोरमका अधिकारीले बताएका छन् ।
किरिबाटीका राष्ट्रपति यसअघि नै सम्मेलनमा सहभागी नहुने बताउनुभएको थियो । सोलोमन टापुका प्रधानमन्त्री म्याथ्यू वेल भने आफ्नो नेतृत्वविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक सङ्कट सामना गर्न आइतबार पलाउबाट स्वदेश फर्किनुभएको छ ।
फिजीको प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्रीले गर्नुहुने भएको छ । प्रधानमन्त्री सम्मेलनको पछिल्लो चरणमा सहभागी हुने वा नहुने स्पष्ट छैन ।
सिड्नीस्थित लोवी इन्स्टिच्युटका प्रशान्त क्षेत्रका विश्लेषक ओलिभर नोबेताउले नेताहरूको अनुपस्थितिले चिनियाँ क्षेप्यास्त्र परीक्षणलगायत विषयमा फोरमबाट संयुक्त तथा बलियो धारणा आउन कठिन हुने बताउनुभएको छ ।
यसैबीच, प्रशान्त क्षेत्रका विभिन्न टापुबाट आएका करिब ११० प्रहरीले सम्मेलनको सुरक्षा गर्ने भएका छन् । यो प्रशान्त क्षेत्रमा प्रहरीबीचको सहकार्यको पहिलो ठूलो स्तरको प्रदर्शन भएको अधिकारीहरूले बताएका छन् ।