भदौ १२, २०८३ शुक्रबार

ओस्लो, १२ भदौ : नर्वेका राजा हेराल्डको निधन भएको छ । उहाँ ८९ वर्षको हुनुहुन्थ्यो । 

राजा हेराल्डको निधन भएको उहाँका ५३ वर्षीय छोरा युवराज हाकोनले पुष्टि गर्नुभएको छ।  हेराल्डको निधनसँगै हाकोन स्वतः सिंहासनको उत्तराधिकारी बन्नुभएको छ। 

नर्वेको राजदरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हामी गहिरो दुःखका साथ घोषणा गर्दछौँ, राजा हेराल्ड अब रहनुभएन । उहाँको देहान्त भएको छ । 

विज्ञप्तिमा राजा हेराल्डको स्थानीय समय अनुसार शुक्रबार (अगस्ट २८) को बिहान ६ः३५ बजे ओस्लो विश्वविद्यालय अस्पतालमा शान्तिपूर्वक देहान्त भएको उल्लेख गरिएको छ। 

राजाको निधनसँगै ओस्लोस्थित राजदरबारको झण्डा आधा झुकाइएको छ भने जनताले श्रद्धाञ्जलि अर्पण गर्न दरबार परिसरमा भीड लागेका छन् । 

प्रधानमन्त्री जोनास गार स्टोरले ‘गहिरो शोक’ सहित राजाको निधनको खबर सुनाउनुपरेको बताउनुभएको छ। 

उहाँले शुक्रबार जारी विज्ञप्तिमा भन्नुभएको छ, “पूरा राष्ट्र राजाको निधनबाट शोकमा डुबेको छ । उहाँको नर्वेप्रति समर्पित लामो जीवनका लागि देशले हार्दिक कृतज्ञता व्यक्त गर्दछ।”

“राजा हेराल्डले नर्वेलाई माया गर्नुहुन्थ्यो त्यसैले नर्वेले आफ्ना राजालाई विनम्रताका साथ माया गर्थ्योे ।”

अघिल्लो दिन दरबारले राजा अस्पतालमा ‘अत्यन्त गम्भीर’ अवस्थामा रहेको घोषणा गरेपछि सयौँ मानिसहरू दरबार बाहिर भेला भएका थिए ।