भदौ १७, २०८३ बुधबार

काठमाडौँ,  १७ भदौः काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको छ । करिब एक हजार ७०० वर्गमिटरमा ढुङ्गा छापिनेछ । प्राचीन महत्वका क्षेत्रका रूपमा रहेको उक्त स्थानमा कालोपत्र हटाई ढुङ्गा छाप्न थालिएको वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिनुभयो ।  

    करिब रु ८७ लाख लागतमा पहिलो चरणको काम सुरु भएको  हो । दोस्रो चरणमा एक हजार १०० वर्गमिटरमा ढुङ्गा छाप्नका लागि रु ९० लाखमा खरिद प्रक्रिया अगाडि बढाएको छ ।  

    अध्यक्ष सङ्गतले, पुरातात्विक महत्वका क्षेत्रमा यसअघि कालोपत्रे गरिएका सडकलाई परम्परागत निर्माण शैली र विधिअनुसार पुनःस्थापना गरिएको बताउनुभयो । “पशुपति क्षेत्र, जयवागेश्वरी, नवाली टोल, गुह्येश्वरी जस्ता प्राचीन महत्वका स्थानहरू हाम्रो वडाको परिचय होे । यी स्थानमा मौलिक स्वरुप पुनःस्थापना अभियान सञ्चालन गरेका छौँ,” अध्यक्ष सङ्गतले भन्नुभयो । 

    सेतोढोका, जयबागेश्वरी, पशुपतिको ढोका, नवाली टोलका सहायक गल्ली, तिलगङ्गा देउला टोलका सबै सडक र गल्लीमा ढुङ्गा छापिएको छ । 

    यस्तै, जय बागेश्वरी उमाकुण्ड र आसपासका गल्लीमा काम सुरु हुँदैछ । मौलिक स्वरूपमा पुनःस्थापनाका लागि रु चार करोड ५० लाख बराबरको खर्च भएको छ । गौरीघाट गुह्येश्वरी मार्गमा कालो रङ्गका, चार इञ्च मोटाइका ढुङ्गा छापिनेछ । ढुङ्गाको तहमुनी  करिब चार इञ्चको चुना ढलान राखिनेछ । कुनै पनि आधुनिक निर्माण सामग्रीको प्रयोग गरिनेछैन । ढुङ्गा, चुनालगायत सामग्रीको प्रयोग हुनेछ । 
–––