महेन्द्रनगर, १८ भदौः सुदूरपश्चिममा गौरा पर्वको तेस्रो दिन आज विधिपूर्वक गौरादेवीलाई गोरा घरमा भित्र्याइँदै छ ।
बिरुडा पञ्चमीबाट विधिवत् रूपमा सुरु भएको गौरापर्वको तेस्रो दिन व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । आजकै दिन गौरादेवीलाई भित्र्याएर गौरादेवीमा चढाएको दुबधागोलाई शुक्रबार गौरा पर्वको मुख्य दिन अठ्यावालीमा व्रतालु महिलाहरूले धारण गर्ने प्रचलन रहिआएको छ ।
साथै साँझको समयमा व्रतालु महिलाले कुण्डस्नान गर्ने परम्परा पनि रहेको व्रतालु बेदकोट नगरपालिकाका गोमती अवस्थीले बताउनुभयो । “आज विधिपूर्वक गौराघरमा गौरादेवीको पूजाआरधना गर्छौं,” उहाँले भन्नुभयो, “ शुक्रबार गौरादेवीमा चढाएको दुबधागो धारण गरेर बिरुडाले आफन्तहरूको टाउँको पूजन गरेर आशीर्वाद दिन्छौँ ।”
उहाँका अनुसार साउँ, अपामार्ग, तिल लगायतका वनस्पतिले गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरी बिरुडाले गौरादेवीको पूजा गर्ने गर्दछन् । “पुरुषको जनै जस्तै महिलाहरूले दुबधागो धारण गर्ने प्रचलन छ,” उहाँले भन्नुभयो, “श्रीमान् तथा घरपरिवारका सदस्यहरूको दीर्घायु र परिवारमा सुख समृद्धिका लागि गौराको व्रत बसिन्छ ।”
गौरा भाद्र शुक्ल वा कृष्णपक्षको पञ्चमी तिथिबाट विधिवत् रूपमा सुरु हुन्छ । भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रहिआएको छ ।
गौरामा शिवपार्वतीको पूजाआजा गरिन्छ । पौराणिककालमा भगवान् शिव (महेश्वर) प्राप्तिका लागि गौरा गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी मनोकामना पूरा भएको विश्वास गरिन्छ । त्यतिबेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा चल्दै आएको होे ।
गौरा पर्वकै अवसरमा सुदूरपश्चिमका बस्तीहरमा देउडा खेल, ढुस्को धुमारीलगायत वीर गाथा पनि गाइने गरिन्छ । गौरा पर्वकै अवसर पारेर कञ्चनपुरको विभिन्न पालिकाका साथै महेन्द्रनगर बजारमा देउडा महोत्सवको आयोजना गरिएको छ ।