ललितपुर, १८ भदौः नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले विपत्तिको सामना गर्न राष्ट्रिय एकता आवश्यक भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बाढी प्रभावित क्षेत्रमा राहत एवं उद्धारमा केन्द्रीत रहेर स्थानीय जनप्रतिनिधिसँग गरेको छलफलमा उपसभापति शर्माले रसुवाको भोटेकोशीमा गएको बाढी लगत्तै राष्ट्रिय एकताका साथ विपद्लाई सामना गर्नुपर्छ भन्ने नीतिका साथ कांग्रेसले सरकारलाई सहयोग गरेको बताउनुभयो ।
“विपत्तिमा सरकारलाई सहयोग गर्नु कांग्रेसको धर्म हो, प्रतिपक्षी दलका हैसियतले कमजोरीमा सरकारलाई प्रश्न गर्ने पनि कांग्रेसको महत्वपूर्ण जिम्मेवारी हो, अव कांग्रेस प्रश्न गर्ने अवस्थामा आइपुगेको छ । रसुवाका जलविद्युत् आयोजनाहरुका सुरूङमा फसेकाको प्राविधिकले गर्नुपर्ने उद्धारमा दक्ष प्राविधिकको तत्कालै परिचालन आवश्यक थियो, यसमा सरकारले पर्याप्त ध्यान दिन सकेन”, उपसभापति शर्माले भन्नुभयो ।
उपसभापति शर्माले विपद्मा प्रभावितको उद्धार पहिलो काम भएको उल्लेख गर्दै मानवताको भावनाले सबै नागरिकलाई बचाउनुपर्छ भन्ने भावनाले सरकारले आवश्यक जनशक्ति परिचालन गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले जनप्रतिनिधिलाई विपत्तिमा अर्कालाई सघाउने सहयोगी भावनाका साथ अगाडी बढ्न र स्थानीय तहबीच समन्वय गरेर सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
छलफलको प्रारम्भमा रसुवा, नुवाकोट र धादिङका पार्टी सभापतिहरुले पीडित र प्रभावित नागरिकले समयमा उद्धार र राहत नपाएको गुनासो गर्नुभयो । छलफलमा नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासङ्घका निवर्तमान महासचिव वंशलाल तामाङका साथै रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा पार्टी प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।
–––