भदौ १९, २०८३ शुक्रबार

बागमती, १९ भदौ : जिल्ला प्रशासन कार्यालय, मकवानपुरले नागरिकको खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन सबैमा आग्रह गरेको छ ।

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाको कृष्णभिर खण्ड बाढी पहिरोका कारण अवरुद्ध भएको अवस्थामा त्रिभुवन राजपथ र कान्ति राजमार्गबाट यातायात सञ्चालन भैरहेका अवस्थामा प्रशासनले ती राजमार्ग तथा वैकल्पिक मार्ग अन्तर्गतका सडक छेउछाउ तथा बजारमा खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन आग्रह गरेको हो ।

    प्रशासकीय अधिकृत सन्तोष सुवेदीले जारी गर्नुुभएको सूचनामा राजमार्ग आसपासका होटेल, रेस्टुरेन्ट, पसल तथा केही व्यवसायीहरूबाट नागरिकको खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारको वेवास्ता गर्दै यात्रुहरूसँग फरक परिस्थितिको फाइदा उठाउन चर्को मूल्य असुली गर्ने, मूल्य सूची नराख्ने, मापदण्ड विपरीत तथा अखाद्य र अस्वस्थ खानेकुरा बेचविखन गर्ने लगायतका गुनासाहरू प्राप्त भएको उल्लेख गरिएको छ ।

    प्रशासनले सवारी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित वनाउन मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधनहरू त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ जाने र कान्ति राजमार्ग हुँदै फर्किने, साना यात्रुवाहक सवारी साधनहरू भीमफेदी कुलेखानीको बाटो काठमाडौं आवतजावत गर्ने व्यवस्था मिलाएको छ ।

    व्यवसायी÷विक्रेताहरुलाई त्यस्तो नगर्नुहुन तथा त्यस्तो गतिविधि गरेको पाइए प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने गरिने उल्लेख गर्दै प्रशासनले यात्रु तथा उपभोक्ताहरूले पनि विल÷रसिद लिएर मात्र भुक्तानी गर्ने, मूल्य सूची जाँच गर्ने र अनियमितता÷कैफियत देखिएमा तत्काल नजिकको प्रहरी चौकी वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन पनि सबैमा अनुरोध गरेको छ ।
 –––