भदौ २०, २०८३ शनिबार

ढाका, २० भदौ : खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर बङ्गलादेशमा शनिबार हजारौँ विपक्षी समर्थकले सरकारविरुद्ध विरोध र्‍याली निकालेका छन् ।

    प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको छ महिनापछि भएको यो सडक प्रदर्शन सरकारविरुद्धको पहिलो ठूलो विरोध कार्यक्रम भएको बताइएको छ ।

    विपक्षी समर्थकहरू ब्यानर र प्लेकार्डसहित ढाकाको एक सार्वजनिक स्थलमा भेला भएका थिए । उनीहरूले बन्दरगाह सहर चट्टोग्रामतर्फ पदयात्रा सुरु गरेका छन् । पदयात्राका क्रममा विभिन्न स्थानमा थप  र्‍याली आयोजना गरिने जनाइएको छ ।

    विपक्षी नेता शफिकुर रहमानले आन्दोलन खाना पकाउने ग्यासको नियमित आपूर्ति र प्रत्येक घरमा विद्युत् सेवा सुनिश्चित गर्न केन्द्रित रहेको बताउनुभयो । “यो आन्दोलन खाना पकाउने ग्यासको सुनिश्चितता गर्न र हरेक घरमा बिजुली पु¥याउन केन्द्रित छ”, उहाँले समर्थकलाई सम्बोधन गर्दै भन्नुभयो ।

    मध्यपूर्वमा जारी युद्धलगायतका कारण बङ्गलादेशमा इन्धन तथा अन्य अत्यावश्यक वस्तुको अभाव बढेको बताइएको छ । सङ्कट व्यवस्थापनमा सरकारको भूमिकालाई लिएर पनि आलोचना भइरहेको छ ।

    उच्च विद्युत् महसुलप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ सरकारी अधिकारीलाई अपमान गरेको आरोपमा एक कलेज विद्यार्थी पक्राउ परेको भोलिपल्ट विपक्षीले प्रदर्शन गरेको हो । आलोचकहरूले उक्त पक्राउलाई सरकारको आलोचना र असहमतिप्रति बढ्दो असहिष्णुताको सङ्केतका रूपमा व्याख्या गरेका छन् ।

    विपक्षी नेसनल सिटिजन पार्टीका नेता अख्तर हुसेनले सरकार ग्यास, विद्युत् र मलको आपूर्ति व्यवस्थापनमा असफल भएको आरोप लगाउनुभयो ।
    
    “तपाईंहरू ग्यास, बिजुली र मल आपूर्ति गर्न असफल हुनुभएको छ र मानिसहरूलाई बोल्नसमेत दिइरहनुभएको छैन”, उहाँले भन्नुभयो । उहाँले सरकारलाई आफ्ना नीतिका कारण गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिनुभयो ।