काठमाडौँ, २४ भदौः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोटरसाइकल चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ बस्दै आएका दावा तामाङ रहेका छन् ।
प्रहरीका अनुसार तामाङले काठमाडौँको नागार्जुन नगरपालिका–९ स्युचाटारस्थित शिवराज पाठकको घर अगाडि पार्किङ गरी राखिएको एक मोटरसाइकल चोरी गरेका थिए ।
मोटरसाइकल चोरी गरी फरार रहेका तामाङलाई काठमाडौँ महानगरपालिका–१४ बाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।
पक्राउ परेका तामाङलाई थप आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
–––